चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ । जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ पुगेको छ । एकै दिन मङ्गलबार १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर अस्पताल कोभिड– १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा १६५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो जसमध्ये १२१ जना चितवनका मात्रै हुन् । थपिएका सङ्क्रमितमध्ये ९२ जना भरतपुरका छन् ।
भरतपुर अस्पतालको प्रयोगशालामा १० महिनादेखि ५६ वर्ष उमेर समूहका १६ पुरुष र ७ देखि ७६ वर्ष उमेर समूहका २६ महिला गरी ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । उता चितवन मेडिकल कलेजको प्रयोगशालामा भरतपुरका ५० जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पूर्वी चितवनको रत्ननगरका २० जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा तीन तथा चितवन मेडिकल कलेजमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । खैरहनीका सात तथा राप्ती, कालिका र इच्छाकामना गाउँपालिकाका समान एक–एक जनामा कोरोना पुष्टि भएको छ । रासस
योपनि
आज एकैदिन कर्णालीमा तीन सङ्क्रमितको मृत्यु
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के।एन पौडेलले जानकारी दिए ।
उनका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो । भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए ।
त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ । तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । रासस






