काठमाण्डौ । माओबादी केन्द्रले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । मङ्गलवार (आज) बसेको पार्टीको स्थायी कमिटी बैठकले ननकोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने भन्दै माओवादी केन्द्रले कोरोना अस्पताल बनाउन सरकारलाई सुझाव दिएको हो ।
अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेशन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरूका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सरकारलाई आग्रह गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकले मजदुर, श्रमजीवीहरूलाई राहत प्याकेज ल्याउन पनि माग गरेको छ । बैठकका निर्णयहरू सुनाउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले भने,‘विश्व नै कोभिड–१९ को महामारीको अर्को लहरको प्रकोपबाट गाँजिएको छ र नेपालमा पनि दोस्रो लहर तीव्र रूपमा अगाडि बढिरहेको छ ।
त्यसले नागरिकको जनजीवन, जीवनको रक्षाको प्रश्न, जनस्वास्थ्यको प्रश्न, राष्ट्रिय अर्थतन्त्रको प्रश्न, सामाजिक अवस्थाको प्रश्न सबैतिर नकारात्मक असर पार्ने खतरा बढ्दै गइरहेको छ । त्यसैले कोभिड–१९ को बहुआयामिक प्रभावलाई पनि सम्बोधन गर्न र मुख्यतः यसको रोकथाम र नियन्त्रणका लागि देशको सरकार, राजनीतिक पार्टी, नागरिक समाज, चिकित्साकर्मी, जनस्वास्थ्यविद् र सामाजिक सङ्घ–सङ्गठन, स्वास्थ्यकर्मी सबै एकताबद्ध भएर हातेमालो गर्दै अघि बढ्न अपिल गरेको छ र साथसाथै यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन पनि सरकारसँग माग गरेको छ ।
यस्तै माओवादी केन्द्रले वडासम्मका सबै कमिटीमा ३५ प्रतिशत महिला सहभागितालाई अनिवार्य गर्ने भएको छ । केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरू कमिटीमा त्यहाँ रहेको जनसङ्ख्याको अनुपातमा दुई प्रतिशत थप गरेर सहभागी गराउने निर्णय गरेको हो । माओवादी केन्द्रले दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । बैठकले पास गरेको अन्तरिम विधानअनुसार अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम बन्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।






