काठमाण्डौ । एकता अभियान चलाउँदै आएका अभियानका संयाजक बामदेव गौतमलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यमा राखेका छन् । ओलीले नयाँ गठन गरेको स्थायी कमिटीमा नेता गौतमलाई उनले सदस्यमा राखेका हुन् । शुक्रबार अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकबाटै माधव नेपाल पक्षका नेताहरुलाई भने ओलीले हटाएका छन् ।
स्थायी कमिटीमा ओलीसहित वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल लगायत १९ जना सदस्य छन् । बिहीबार मात्रै ओली र गौतमबीच बालुवाटारमा भेटवार्ता भएको थियो । तर डिनर छाडेर हिडेका वामदेव स्थायी कमिटी सदस्यमा समेटिएका हुन् ।
यस्तै विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कँडेल र मणि थापा सदस्य रहेका छन् । थप सदस्य पछि थप्ने गरी स्थायी कमिटी घोषणा गरिएको ओली समुहका नेताहरुले बताएका छन् ।
ओलीले गठन गरेको सो समितिमा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई हटाइएको छ । यी चारै जना नेतालाई पार्टीसम्बन्धी विवादमा स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्बन गरिएको छ । त्यसैगरी नेपाल पक्षमा रहेका वरिष्ठ नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई र अमृत बोहरालाई स्थायी समितिबाट हटाइएको छ ।
एमालेको नयाँ स्थायी समितिमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह र मणि थापालाई थपिएका हुन् । त्यसैगरी, माओवादीसँग एकीकरण गरी स्थायी समिति सदस्य बनाइएका तर एमालेमा स्थायी समितिमा नरहेका रघुविर महासेठ र विष्णु रिमाललाई आज बनाइएको स्थायी समितिमा थपिएको छ।
स्थायी कमिटि गठन गर्दा विधानमा नै उल्लेख भएको ३३ प्रतिशत महिला सहभागीताको नियम भने यहाँ उल्लंघन भएको छ । एक जना महिला पनि स्थायी कमिटिमा आएका छैनन् । यस अघि अष्टलक्ष्मी शाक्य मात्र स्थायी कमिटि सदस्य भएकोमा उनलाई हटाइए पछि अहिले एक जना महिला पनि छैनन् ।






