कामाण्डौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाई नसघाइने स्पष्ट पारेका छन् । जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् ।जसपा अध्यक्ष ठाकुरले बिहीबार आयोजित आफूनिकट (तत्कालीन राजपा) का सांसदहरुसँगको छलफलमा सरकारले माग पूरा नगरे ओलीलाई नसघाइने स्पष्ट पारेका हुन् ।
सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा ठाकुरले सत्ता समीकरण लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदै आएको वार्ताबारे ब्रिफिङ गरेका थिए । बैठकपछि प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँग भएको पछिल्लो छलफलको बारेमा ठाकुरले सांसदहरुलाई ब्रिफिङ गरेको जानकारी दिए ।
मु द्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता समस्या, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा अध्यक्ष ठाकुरले सांसदहरुलाई जानकारी गराउँदै अहिले पनि माग पूरा भइनसकेको बताएका थिए ।ठाकुरले प्रधानमन्त्री ओलीसँग हुँदै आएको छलफलबारे पार्टीभित्रैबाट भ्रम छर्ने काम भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका थिए ।
सांसद कर्णले पूर्वराजपाका सांसदहरुको सहभागिता रहेको बैठकमा ठाकुरले कतिपय विषयमा अस्पष्टता रहेकाले त्यसलाई प्रष्ट पार्न अनौपचारिक छलफल गरिएको प्रतिक्रिया दिए । सो क्रममा ठाकुरले आफूहरुले उठाउँदै आएको माग कुनै पनि पूरा नभएको र कतिपय प्रक्रियामा रहेको आश्वासन पाएकाले त्यो पूरा भएपछि मात्रै सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे टुंगो लगाउने सांसदहरुलाई विश्वास दिलाएका थिए ।
प्रधानमन्त्री ओली जसपा नेपालले राखेको मागप्रति सकारात्मक रहेको र अहिलेसम्म माग पूरा हुनेमा आफू विश्वस्त रहेको पनि ठाकुरले बैठकमा बताएको एक नेताले जानकारी दिए । यद्यपि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपा नेपालमा विवाद रहेको छ ।
अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीको पक्षमा छन् भने सोही पार्टीका अर्का अध्यक्ष यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् । यसले गर्दा पार्टीमा विवाद हुँदै आएको छ । यसरी विवाद उत्पन्न भइरहेका बेला जसपामा गुटका बैठकहरु हुँदै आइरहेका छन् । दुई निलम्बितबाहेक ३२ सांसद रहेको जसपामा तत्कालीन राजपाका तर्फबाट १६ सांसद छन् ।
जसपाका एकजना सांसद रेशम चौधरी जेलमा छन् भने अर्का एकजना हरिनारायण रौनियार निलम्वनमा परेका छन् ।तत्कालीन समाजवादी पार्टीका १६ सांसद रहेका छन् । सरकारमा जानेबारे विवाद भएकाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने अवस्था आएमा पार्टी विभाजन या फ्लोर क्रस हुने सम्भावना रहन्छ ।
त्यसले गर्दा दुवै पक्षले आ–आफ्ना सांसदहरुसँग नियमित छलफलहरु गर्दै आएका छन् । हालसम्म जसपाको संसदीय दल समायोजन भएको छैन । संसदीय दल समायोजन नभए पनि जेष्ठताका आधारमा महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपालको संसदीय दलको संयुक्त बैठक दुई पटक बसिसकेको छ ।






