काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । उनले ओलीले संस्थालाईभन्दा व्यक्तिलाई बलियो बनाउने धाउन्नमा लागेको आरोप लगाएका हुन् । नेता थापाले यस्तो अवस्थामा देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढङ्गले उभिनुपर्ने बताए ।
शुक्रवार काठमाण्डौमा नेपाल निजामती कर्मचारी युनियन सङ्घको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशङ्का गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिनुपर्ने बताए । उनले संस्था बलियो बनाउने भन्दा व्यक्ति बलियो बनाउने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको र देशका संवैधानिक संस्थालाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको बताए ।
नेता थापा भन्छन्,‘२०७४ साल फागुन २७ गते प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिइसकेपछि पार्टीको तर्फबाट संसदमा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा म सम्झन्छु । एउटा आशङ्का छ कि तपाईँको पृष्ठभूमि हेर्दा, तपाईँको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालको संस्थाहरू बलियो बनाएर,
पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्नभन्दा पनि व्यक्ति बलियो भयो भने परिणाम आउँछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशङ्का छ । यो भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेको बोलेको म सम्झन्छु । त्यो भनिरहँदा यो नहोस् भन्ने थियो ।’
संविधान निर्माणपछिको चुनाव र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा लैजान्छ भन्ने अपेक्षा भए पनि विगतमा आशङ्का गरिए जस्तै ढङ्गले नेपालको राजनीति अघि बढेको उनले उल्लेख गरे । संसद्, अदालत, संवैधानिक निकायहरू, आयोगहरू, प्रशासनलगायत सबैतर्फ अस्तव्यस्त रहेको भन्दै नेता थापाले स्थिर सरकारले दीर्घकालीन सोच राखेर नभइ व्यक्ति केन्द्रित शक्ति एकीकृत गर्ने ढङ्गबाट अघि बढेको बताए ।
विभिन्न ढङ्गले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबरजस्त विभाजन गर्ने प्रयास गरेको उनले दाबी गरे । नेता थापाले पछिल्लो समय ओली पक्षमा रहेका समूह विकासप्रेमी र ओलीको विपक्षमा उभिनेहरू विकास विरोधीको कित्तामा देखिएको तर्क गरेका थिए । उनले भने,‘पपुलिस्ट लिडरको क्यारेक्टर एउटै हुन्छ ।
पपुलिस्ट लिडर देशको समस्याहरू अत्यन्तै सामान्य छन्, मभन्दा अगाडिका शासकहरू खराब र अयोग्य भएकाले गर्न नसकेको हो तर मसँग क्षमता छ, त्यसकारण मैले तत्काल यसको हल गर्छु भन्छ ।’ नेता थापाले वर्तमान सरकारले नै आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दाबी गरेका थिए ।
उनका अुनसार जेठ १५ गते यो सरकारले बजेट ल्याउन पायो भने अहिले नै दावाका साथ भन्न सकिन्छ, सिङ्गो देशले भारी बोक्न नसक्ने भारी नेपालको अर्थतन्त्रलाई बोकाउने गरी बजेट ल्याउँछ । उनी भन्छन्,े‘हिलेको प्रधानमन्त्रीले लोक सेवा आयोगको संवैधानिक परिषद्को अध्यक्षको रूपमा नियुक्त गर्न पाउनुभयो भने अर्को एउटा हनुमानलाई ल्याएर त्यहाँ राख्नुहुन्छ भन्ने कुराको अहिले नै अनुमान लगाउन सक्छौँ ।’
नेपाली कांग्रेसले आफ्नो कर्तव्य र धर्म निर्वाह गरी अवसरको दुरुपयोग गरेका प्रधानमन्त्री ओलीलाई दण्डित गरेर पदच्युत गर्ने हिम्मत गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । हटाएपछि उत्पन्न अवस्थाको सामना गर्ने क्षमता कांग्रेसमा रहेको भन्दै नेता थापाले नेतृत्वलाई त्यसतर्फ अघि बढ्न आग्रह गर्नुभयो । सरकारका क्रियाकलापहरू संवैधानिक संस्थाहरू भत्काउन उद्यत रहेको र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि संस्था भत्काउने प्रयास स्वरूप आएको भन्दै उहाँले सरकारका त्यस्ता क्रियाकलापविरुद्ध कांग्रेस उत्रनुपर्ने आवश्यकता रहेको औंल्याए ।
उनले चुनावमा जाँदै गर्दा विगतको इतिहास रटेर नभइ तथ्यगत रूपमा एजेण्डासहित नागरिक माझ जान पनि सल्लाह दिएका थिए । उनले भने,‘यो पटक कांग्रेस चुनावमा जाँदै गर्दा मेरा बाले घिउ खाएका थिए, हात सुँघ सुँघ भनेर गएर हुँदैन । पाँच वर्ष मौका पाउँदा के–के गर्छौँ भनेर औला भाँचेर भन्नुपर्छ ।’ उनले निजामती कर्मचारी युनियनलाई आफ्ना समस्या र मागहरूलाई लिपिबद्ध गर्न र अनुकूल ढङ्गले विधान संशोधन गर्न सुझाव दिए ।






