काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गएर ओलीलाई नै चेतावनी दिएका छन् । उनले ओलीलाई एक्लौटी निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका हुन् । यस्तो निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने नेता खनालले बताए ।
उनी दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी थिए । त्यहाँ बोल्दै नेता खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताए । साथै, यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरे पार्टी एक बाट दुई समेत हुनसक्ने ओलीले बताए ।
अर्का नेता माधवकुमार नेपाल र भीम रावल सहभागी नभएको बैठकमा खनाल अन्य सांसद लिएर बालुवाटारमा आयोजना गरिएको संसदिय दलको बैठकमा सहभागी हुन पुगेका थिए । तर माधव नेपाल र भिम रावल आफैले गरेको निर्णय विपरित संसदिय समितिको बैठकमा सहभागी हुन पुगेनन् ।
सर्वोच्च अदालतले नेकपा एमाले ब्युँझाइदिएपछि नेपाल पक्ष पनि एमालेमै रहने निर्णयमा पुगेको हो । प्रचण्डसंग मिलेर प्रधानमन्त्रीवाट ओलीको राजिनामा माग्दै सडक संघर्ष गरिरहेको नेपाल पक्ष एमाले भित्रै रहेर संघर्ष गर्ने निर्णयमा पुगेको हो ।
नेपाल पक्षले सर्वोच्च अदालतले दिएको निर्णय अनुसार अब पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने मागमा छन् । तर प्रधानमन्त्री ओलीले झलनाथ खनाललाई छेउमा राखेर माधव नेपाल पक्षका कुनै पनि शर्त मान्य नहुने प्रष्ट पारे ।
अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने भन्दै नेपाल र रावललाई कारवाही गर्ने संकेत गरे । ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापनमात्र भएको बताएका थिए ।
ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको भन्दै माधव र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागीदार हुने बताएका छन् । उनले अबको केन्द्रीय कमिटी बैठकवाट उनीहरुलाई कारवाही हुने संकेत समेत गरेका छन् ।






