काठमाण्डौ । नेकपा एमालेमा अहिले दुई खेमा छन् । एक खेमाको नेतृत्व केपी ओलीले गरिरहेका छन् भने अर्को खेमाको नेतृत्व माधवकुमार नेपालले लिएका छन् । नेपाल समुह आफूलाई असन्तुष्ट समुह भनेर चिनाउन चाहन्छ । यही समुहमा चर्को आलोचकका रुपमा रामकुमारी झाँक्री रहेकी छिन् ।
नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीलाई पार्टीबाट केही कारवाही हुने अनुमान गरिएको थियो । अन्य चार नेताहरु कारवाहीका लागि छनौट हुँदा रामकुमारी भने जोगिएकी छिन् । उनी पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी हुन् ।
यसको कारण भने अचम्मको छ । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भएको पार्टी श्रोतले बताएको छ । पछि प्रधानमन्त्री ओलीले उनको नाम हटाएको बताइन्छ । रामकुमारी अझै ‘केटाकेटी’ नै रहेको र उनले कारवाही भोग्ने बेलै नभएको कुरा प्रधानमन्त्री ओलीले बताएको पार्टी श्रोतले जानकारी दिएको छ ।
सनिबार बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । यसमा झलनाथ खनाल पनि स्वास्थ्यका कारण कारवाहीबाट जोगिएका छन् । समानान्तररुपले जनसंगठन बनाउने सबै नेता अब कारवाहीको दायरामा ल्याइने छन् ।






