काठमाण्डौ । एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । गौतम यसअघि ओली तथा नेपाल–खनाल समूहका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् ।
ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल समूहले भने यसअघि नै सहभागी नहुने निर्णय गरिसकेको छ । संसदीय दलको बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संशोधित् विधान पारित गर्दै विधानलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । तीन सदस्यीय कार्यदलले तयार पारेको विधान संशोधन प्रस्ताव पारित भएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यस्तै नेकपा एमालेको संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले गुटगत भेला र गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
अस्ति पाँच गते बसेको खनाल–नेपाल समूहका नेताहरु अनुपस्थित भए पनि बैठकले संसदीय बोर्ड गठन गरेको थियो । संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाईसमेत राखिएको छ । यसैबीच, खनाल–नेपाल समूहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित पत्र बुझाएको छ ।
लिखित पत्र बोकेर खनाल–नेपाल समूहका सांसदहरु जीवनराम श्रेष्ठ, सोम पाण्डे र यज्ञराज सुनार बालुवाटार पुगेका थिए । बैठक र निर्णयहरु विधान र विधिसम्मत हुनुपर्ने भन्दै खनाल–नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएको हो । यो समूहले आजको बैठक पनि बहिस्कार गरेको छ ।






