काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । मंगलबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गरेर के भयो ? भनी प्रश्न गरेका थिए ।
प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित सबै दलका नेता सामु फेरि संसद विघटन गर्ने संकेत देखाए । उनले सरकार र संसद् राम्रोसँग चल्न नदिएको भन्दै राष्ट्रपति अगाडि सबैदलीय बैठक सामू यस्तो कुराको संकेत देखाएका हुन् । सर्बोच्च अदालतको फैसलाले नेकपा विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीकै कुर्सी जाने जस्तो देखिएको छ ।
यसै मेसोमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आयोजना गरेकी थिइन् । उक्त बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् । तर, सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको निर्णय गरेको थियो । यसपछि फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना भएको थियो ।
उक्त बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिको पहलमा प्रधानमन्त्रीले फेरि संसद विघटन गर्नसक्ने सन्देश दिन सर्वदलीय भेला आयोजना गरिएको जस्तो भान परेको थियो । प्रधानमन्त्री ओलीले उक्त बैठकमा प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि असन्तुष्टि जनाएका थिए । दलका नेताहरूले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएकी थिईन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्माओली, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका थिए । बैठकमा पूर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनालले भने सहभागीता जनाएनन् ।






