काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा एमाले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले यो देशको विकासकोलागी माओबादी केन्द्रसहीतको वामपन्थिको सरकार नै बनाउनुपर्नेमा जोड दिएका छन् । उपाध्यक्ष गौतमले माओबादी केन्द्रलाई टाढा राखेर एमालेको मात्र कम्युनिष्ट सरकारले सम्बृद्ध नेपाल र सुखी नेपालीको सपना कुनैपनि हालतमा पुरा नहुने भन्दै माओबादी केन्द्रसहीतको वामपन्थिको सरकार नै बनाउनुपर्नेमा जोड दिएका हुन् ।
मंगलबार राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता गौतमले सबै कम्युनिष्टहरु मिलेर जानुको विकल्प नभएको बताए । वामपन्थिहरुको सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी लिनुपर्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीसंगको भेटमा आफुले वाम सरकार बनाउनकोलागी केपी ओलीलाई सुझाव दिएको पनि बताए ।
उनले भने,‘देशलाई निकास दिनकोलागी वाम सरसको विकल्प छैन । त्यसैले प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस् । आफ्नो पक्षका बाहेक अरुलाई पनि सम्मान जनक व्यवहार र सम्बोधन दुवै गर्नुहोस् । वाम सरकार भनेको एमाले र माओवादी केन्द्रको सरकार हो । यो कुरा बुझेर देश र जनताको हीतकालागी विगतमा भएका सबै कुरा बिर्सिएर प्रचण्डलाई एकतामा ल्याउनुहोस् । ।’ नेपालका सबै कम्युनिष्ट पार्टीलाई एकता गर्न नसके पनि संयुक्त मोर्चामा ल्याउन आफू सफल हुने नेता गौतमको भनाई थियो ।
एकताकै पक्षमा अडीग रहेका नेता गौतमले अदालतको फैसलापछि पनि आफ्नो अभियान नरोकिने बताए । ओली र माधव नेपालबीच संवाद सुरु भइसकेको प्रसंग कोट्याउँदै दुवैबीच भएको वार्ता निष्कर्श बिहीन भएको भन्ने समाचार बाहीएतापनि त्यो एकताको निम्ति प्रयत्नशील नै भएको गौतमले बताए । साथै एमाले एकताबद्ध बनाउन ओलीकै महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।






