काठमाडौ । एकता राष्ट्रिय अभियानका संयोजक एवं नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको एकताको प्रयास सार्थकता तिर उन्मुख हुँदै गईरहेको छ । सर्वोच्चको निर्णयपछि नेता गौतमले पार्टी भित्रकै एकतामा जोड दिंदै आफु अन्तिम चरणसम्मपनि एकताकै पक्षमा उभिने बताउँदै आएका छन् । सोही क्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएको हुनाले संयोजक गौतमको एकताले सार्थकता पाएको देखिन्छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष छलफल भएको छ । उनीहरूको छलफलले वार्ता र संवादको ढोका खुलेकाले छिट्टै सहमति हुने विश्वास नेताले गरेका छन् । यद्यपि सोमबारको छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा सहमति भने जुट्न सकेन । अध्यक्ष र वरिष्ठ नेताका साथ वार्तामा खटिएका नेताले भने वार्ता सकारात्मक भएको बताएका छन् ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको करिब २ घण्टा लामो छलफलमा एमालेको एकता जोगाउने विषयमा छलफल भएको थियो । एकता जोगाएर अघि बढ्न सबै पक्ष सहमत भएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न नेपाल समूहका नेतासँग आग्रह गरे पनि नेपाल समूहले गत २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न नसकेको हो ।
परराष्ट्रमन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल समूहलाई ४ र ५ चैतमा बोलाएको राष्ट्रिय भेला स्थगित गरेर ७ चैतको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आग्रह गरिएको बताए । छलफलमा सहभागी ज्ञवालीले राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकाले त्यस्ता भेला नगर्न आग्रह गरिएको बताउँदै दुवै समूहबीच खुलमखुला छलफल भएको बताए ।






