काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन् ।
कम्युनिष्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए । ‘सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले । पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ ।’ उनले भने
देउवाले भने‘प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’ सभापति देउवाले देशको राजनीति अवस्था अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले पदको लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइपर्यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे ।






