काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको पद पार्टीबाट गएको छ । उनी नेकपा एकता अभियानमा सक्रिय रहंदापनि प्रधानमन्त्री ओलीले उनलाई पार्टीको उपाध्यक्ष पदबाट हटाएका हुन् । ओलीले आफुलाई पनि एउटै घानमा राखेर पदबाट निकालेकोभन्दै बामदेव ओलीसंग निकै नै रिसाएका छन् । ओलीले पार्टीको विधी र विधान मिचेर पार्टीमा ओलीतन्त्र लागू गर्न खोजेकोभन्दै ओलीसंग एकताको सम्भावना सक्किएको पनि अभिव्यक्ति दिएका छन् ।
पद गए लगत्तै कान्तिपुरलाई एक अन्तरवार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा कम्युनिष्ट चरित्रको नभएको दाबी नेता गौतमले गरेका छन् । ओलीले शुक्रबार बालुवाटारमा गरेको निर्णयलाई गौतमले अवज्ञा गर्ने भएका छन् । उनले कान्तिपुरसँगको अन्तरवार्तामा केपी ओलीले पार्टीमा तानाशाही चरीत्र देखाएकाले उनको बिकल्प खोजिनु पर्ने समेत बताए ।
प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय गरेपछि त्यसपछि विकसित भएको राजनीतिक घटनाक्रम प्रति असन्तुष्टि जनाउँदै गौतम तटस्थ बसेका थिए । उनले ओली र प्रचण्ड नेपाल समुहले गरेका राजनीतिक गतिविधिले पार्टी एकता कमजोर हुने भन्दै तटस्थ बस्ने निर्णय गरेका थिए । गौतमले पार्टी एकता अभियान संचालन गरेका थिए ।
तर शुक्रवार भएको राजनीतिक घटनाक्रमले गौतम पनि पद विहिन भएका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वरिष्ठ नेताहरु लाई केन्द्रीय सदस्यमा सिमित पारेपछि नेकपा एमाले फुटको अवस्थामा पुगेको छ । ओलीले विधानको बाधा अड्काउ फुकाएको भन्दै कठोर कदम चालेपनि माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले गम्भीर छलफल बढाएका छन् ।
गौतमले अब ओलीसँग एकता हुन नसक्ने बताइसकेका छन् । उनले नयाँ ढंगले अगाडि बढ्ने रणनीति समेत तयार गरेका छन् । अब एमालेको माधव झलनाथ र बामदेव पक्षधर एक भई ओलीलाई कारबाही गर्ने या नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी नाम जुराएर उक्त पक्ष केन्द्रीय समिति र संसदीय दलमा ४० ४० प्रतिशत पुर्याउने गरी बढेको बुझिएको छ । ओलीलाई प्रधानमन्त्रीबाट जतिसक्दो छिटो हटाउने गरी रणनीति समेत बनेको छ । एकताको सबै सम्भावना समाप्त भएको निष्कर्षसहित अब ओलीविरुद्ध नेताहरु कडा रुपमा प्रस्तुत हुने भएका छन् ।






