काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल लगायतका समूहलाई एमाले हुँ भन्दै आफु रहेको पार्टीमा नआउन भनेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘अब साँचो एमाले हामी नै हौं त्यसैले हामीले चिन्दैनौं । जता जाने हो गए हुन्छ, तर एमाले हुँ भन्दै नआउँदा हुन्छ ।’ ओलीले माधव लगाएत उनका समूहलाई नै हालै पार्टीको जिम्मेवारीबाट हटाएका छन् ।
यस्का साथै प्रम ओलीले माधव नेपाल लगायतलाई चाँडै नै पार्टी सदस्यताबाट हटाउने बिषयमा पनि अघि बढ्न लागेका हुन् । समानान्तर पार्टी कमिटि बनाउने जस्ता अनुशासनहीन काम गरेको भन्दै नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्ने ओलीको तयारी रहेको बुझिएको छ ।
पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन ताना बाना बुन्नेलाई नेकपा एमालेमा कुनै स्थान नभएको र उनीहरुले अब एमाले पार्टी दावी गर्न समेत नमिल्ने जस्ता बिषयमा प्रधानमन्त्री ओली अडिग रहेको ओली निकट एक नेताले बताए ।
ती नेताका अनुसार ओलीले शुक्रबारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए ।
सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए । यस्तै माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज समेत तोकेका थिए ।






