काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीको विशेष बैठकबाट उमेर हदको हदबन्दी हटाएका छन् । उनले ७० वर्षको हदबन्दी हटाएका हुन् । यसका साथै ओलीले पार्टी महाधिवेशनको समयावधि, कमिटीको संरचनालगायत कतिपय प्रश्नमा नवौँ महाधिवेशनबाट पारित विधानका व्यवस्थालाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन बाधा अड्काउ फुकाउने पनि निर्णय गरेको छ ।
बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि थप केही सङ्गठनात्मक प्रबन्ध गर्ने निर्णय गर्दै अर्को निर्णय नहुँदासम्म मातहतका कमिटीलाई पूर्ववत् क्रियाशील रहन आह्वान गरेको छ । बैठकमा अध्यक्ष ओलीले यसबीचमा पार्टी र आन्दोलनलाई समाप्त पार्न र आफ्नो पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरेर बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षडयन्त्र गरिए पनि आम जनताको साथ र पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताको सक्रियताले त्यसलाई विफल पारिएको बताए ।
“सबैलाई अब जनताको समस्यामा केन्द्रित हुन र पार्टीलाई एकताबद्ध, अनुशासित, वैचारिक रुपमा स्पष्ट एवं जनताको मनमनमा भिजेको पार्टीका रुपमा स्थापित गर्न सक्रिय योगदानका लागि आह्वान गर्दछु”, अध्यक्ष ओलीले भने । उनले सङ्कटको बेलामा सही नेतृत्व र सही विचारका पक्षमा दृढतापूर्वक उभिने नेता र आमजनतालाई विशेष धन्यवाद दिएका थिए । महासचिव ईश्वर पोखरेलले सञ्चालन गरेको उक्त बैठकमा एकीकरण पश्चात्को लगभग तीन वर्षको अवधिमा कुशलतापूर्वक महासचिवको जिम्मेवारी बहन गरेकोभन्दै विष्णुप्रसाद पौडेललाई धन्यवाद ज्ञापन गरिएको थियो ।
केन्द्रीय कमिटीको नियमित बैठक यही २०७७ साल चैत ७ गते बस्ने निर्णय पनि बैठकले गरेको छ । विभिन्न प्रदेश सभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन बैठकले निर्देशन दिएको छ । पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वान गर्दै बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यलाई पार्टी निर्णयअनुरूप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गरेको हो ।






