काठमाडौ । पछिल्लो विकसित घटनाक्रम पछि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर नेपाली कांग्रेस पनि रुष्ट भएको छ । सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित एक दर्जन बढी नेताहरु अब ओलीलाई प्रधानमन्त्रीमा राख्नै नहुने निष्कर्षमा पुगेका छन् । उनीहरुको यो निष्कर्षमा पार्टी अध्यक्ष शेरवहादुर देउवाको राय भने छैन ।
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र व्युँताएपछि नयाँ सत्ता समीकरणका का लागि छलफल गहिरिदै गएको बेलामा वरिष्ठ नेता पौडेलले आफ्नो समूह र सिटौला समूहका नेतासँग छलफल गरेका हुन्।
महाराजगन्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास भएको छलफलमा उनीहरुले ओली अब प्रधानमन्त्रीमा रहन उपयुक्त पात्र नभएको निष्कर्ष निकालेका हुन् । वरिष्ठ नेता पौडेल, सिटौला, महामन्त्री कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा। मीनेन्द्र रिजाल, गगन थापा लगायतका नेताहरु छलफलमा सहभागी थिए ।
तर यस बारेमा देउवाले भने कुनै धारणा सार्वजनिक गरेका छैनन् । अहिले केही बेरमा बस्न लागेको शीर्ष नेताहरुको बैठकमा सभापति शेरबहादुर देउवाको कुरा सुनेपनि थप धारणा बनाउने र त्यसका लागि चैत ३ गते फेरि बैठक बस्ने सहमति भएको कांग्रेस स्रोतले जनाएको छ । ‘चैत ३ गतेको बैठकले यसवारे ठोस निर्णय सहित सार्वजनिक गर्ने बताइएको छ ।






