ललितपुर । एमालेका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले सर्वोच्च अदालतद्धार साबिककै अवस्थामा फर्काईएको एमाले र माओबादी केन्द्रलाई आफुले सकारात्मक रुपमा लिएको बताएका छन् । नेता गौतमले निर्वाचन आयोगले मिलाउन नसकेको नेकपाको विबादलाई सर्वोच्चले दुबै पक्षलाई सजिलो हुने गरी निर्णय दिएर मिल्ने वातावरण बनाईदिएकोमा यस्लाई अन्यथा नलिएर सकारात्कम रुपमा लिन सबैलाई आग्रह पनि गरेका छन् ।
मंगलबार आफ्नै निवास भैंसेपाटीमा पत्रकारहरूसंग बरिष्ठ उपाध्यक्ष गौतमले भने,‘प्रतिनिधिसभा पुनस्र्थापना गर्ने तथा एमाले र माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काउने दुबै निर्णयको मैले स्वागत गरेको छु ।’ गौतम अगाडी भन्छन्,‘सर्वोच्चले साबिकको अवस्थामा नफर्काएको भए हामी सबै दलविहीन भइन्थ्यो । र यो मेरै हो भनेर भनि हिंड्नुको कुनै अर्थ नै हुँदैनथ्यो । त्यसैले अदालत ले जे फैसला सुनायो त्यो स्वागतयोग्य छ ।’
सर्वोच्चले साबिककै एमाले र माओबादी केन्द्रलाई ब्यूँताई दिएपछि अबको तपाईँको एकता अभियानको प्रकृया कसरी अगाडी बढ्छ त ? भन्ने प्रश्नमा नेता गौतमले भने,‘तत्कालका लागि एकता अभियान जे जसरी चलि रहेको छ त्यसैगरी नै सक्रियताका साथ अगाडि बढ्छ ।’ उनले अगाडी थपे,‘विभाजन र विभाजनको तुष रहुन्जेल एकताका पक्षमा लागि परिरहनेछु ।’ नेता गौतमले अध्यक्षको हैसियतले केपी ओलीले एकताकोनिम्ति विशेष भूमिका खेल्नु पर्ने बताउँदै विगतका सबै तिक्ततालाई बिर्सिएर अगाडी बढ्ने वातावरण निमार्ण गर्न सुझाव दिए ।
पार्टी विभाजनमा गौतमको नै हात रहेको चर्चाबारे पत्रकारले सोधेको प्रश्नमा प्रतिप्रश्नसहित जवाफ दिंदै उनले भने, ‘दुईअध्यक्ष दुईतिर मुख फर्काएर हिँड्दा पनि म एकताको पक्षमा उभिएँ, एकता अभियान चलाएँ, आजसम्म पनि एकताकै पक्षमा छु । यो कुरा प्रष्ट हुँदाहँुदै कसरी बामदेवले नै पार्टी विभाजन गर्यो भन्न सकेको ?’ अदालतका दुबै निर्णयको नेता गौतमले खुलेरै स्वागत गरेका छन् ।
उनले विगतलाई धेरै कोट्याउनु नहुने भए पनि एकता गर्दाको विधिविधान, प्रक्रियागत त्रुटी, बेलाबखत नेताहरूबाट निस्केका बचन र एकता गर्ने अध्यक्षद्वय स्वयं नै बादीप्रतिवादी जस्तो हुनु भएकाले प्रयास गर्दा गर्दै एकता जोगाउन नसकिएको स्वीकार गरे । साथै उनले यसबाट शिक्षा लिएर एकतामा नै जोड दिन आग्रह गरे ।






