काठमाडौ । सर्वोच्च अदालतको निर्णय पछि एमालेको उपाध्यक्ष रहेका वामदेव गौतम थप शक्तिशाली बनेका छन् । उनी नेकपाको समेत वरिष्ठ उपाध्यक्ष थिए । सर्वोच्चको निर्णय पछि एमाले र माओवादी केन्द्र ब्युँझिएको अवस्थामा गौतम थप शक्तिशाली भएका हुन् । सर्वोच्चको निर्णयपछि गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका छन् ।
पौडेल नेकपाको नामबारे सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गौतमको निवासमा पुगेका हुन् । गौतम निवास पुगेर अदालतको फैसलाले दलको अवस्था के हुने, कसरी जाने भन्ने विषयमा गम्भीर छलफल गरेको बुझिएको छ ।
ओली आफ्नो समूहमा गौतम पक्षलाई ल्याउन क्रियाशिल बनेका छन् । पुस ५ गते नेकपा अध्यक्ष एवम् केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । पार्टी विभाजित भए पनि उपाध्यक्ष गौतम कतै लागेका छैनन् ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापनाको निर्णय सुनाएपछि गौतम पार्टी एकता अभियानमा सक्रियताका साथ लागेका छन् । उनी अहिले पनि पार्टी एकताको पक्षमा छन् । एमालेलाई एक बनाएर माओवादी केन्द्रसंग कार्यगत एकताको तत्कालिन रोडम्याप सहित उनले ताजा धारणा सार्वजनिक गरेका छन् ।






