काठमाडौ । नेकपाको वैधानिकताबारे सर्वोच्च अदालतले आइतबार गरेको फैसला अनुसार एकीकरण हुनुअघिका एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि सबै भन्दा अप्ठेरो माधव नेपाल समुहलाई परेको छ । राजनीतिक उथल पुथलका बेलामा प्रचण्ड पुर्ववत माओवादी केन्द्रमा छन् भने प्रधानमन्त्री ओली नेकपा एमालेमा ।
तर ओलीको साथ छोडेर प्रचण्डको साथमा आएका माधव नेपालको समुह भने अप्ठेरोमा परेको छ । त्यसैले नेपाल समुहले पुर्ववत नेकपा एमालेमै रहेर प्रधानमन्त्री ओलीको प्रवृत्ती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । ओली समूहले त विभिन्न जिल्लामा पार्टी कार्यालयमा रहेका नेकपाको बोर्ड हटाउँदै एमालेको बोर्ड राख्नसमेत सुरु गरिसकेका छन् भने प्रचण्ड नेपाल समुह आगामी योजनाका बारेमा छलफलमा जुटेका छन् ।
तर अदालतले फैसला गरिसकेकाले नेपाल पक्ष पनि एमालेभित्रै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छ । यो निर्णय लिएर नेपाल पक्षले पेरिसडाँडामा प्रचण्ड सहितको नेतासंग स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । राजनीतिक घटनाक्रमले पानी बाराबारको अवस्थामा पुगेका ओली र नेपालबीचको अबको सम्बन्ध कस्तो हुनेछ त्यो त भविष्यले नै बताउला ।
तर सत्तारूढ नेकपाकी सचेतक एवं ओली समूहकी नेतृ शान्ता चौधरीले त केपी शर्मा ओलीले माधवकुमार नेपाललाई केक खुवाइरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै अवस्था पहिले जस्तै हुने आशा ब्यक्त गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षका एक अध्यक्ष माधवकुमार नेपालबीच पुरानै मित्रता फर्किने आशा व्यक्त गरिसकेकी छन् ।
उनले लेखेकी छन्, ‘अबको नया परिस्थितिमा हाम्रा आदरणीय नेताहरूको यस्तो सम्बन्ध आउँदा दिनमा अझ मजबुत बनोस् र सहकार्यले निरन्तरता पाओस्, आरोह अवरोहत जीवनको एउटा अभिन्न अंग नै त हो, निरन्तरता नै त हो नि मुख्य कुरा, हैन र ?’







