काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्नि सापकोटासँग भेट गरेका छन् । सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमै पुगेर दाहाल नेपालले सापकोटासँग भेट गरेका हुन् ।
आज अपराह्न चार बजे संसद बैठक बस्नु अघि नै दाहाल नेपालले सभामुख सापकोटालाई भेटेका हुन् । त्यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरतमा दाहाल नेपाल समूह रहेका बेला दुवै अध्यक्ष सभामुखसँग भेट गरेर फर्केका छन् । सभामुखसँगको छलफलमा के कुराकानी भयो भन्ने विषयको जानकारी बाहीरिएको छैन ।
सभामुख अग्नि सापकोटाको भूमिकाप्रति नेकपाको ओली खेमाले भने आशङ्का व्यक्त गरिरहेको छ । शनिवार राति बालुवाटारमा भएको ओली खेमाको बैठकले सभामुखले प्रचण्डलाई दलको नेताका हैसियतमा बोल्न दिए त्यसको प्रतिकार गर्ने रणनीति बनाएको छ ।






