काठमाडौ । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ । प्रचण्ड नेपाल समूहले शुक्रबार संसदीय दलको बैठकमा प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।
केपी शर्मा ओलीलाई हटारए सो समूहले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । प्रचण्ड माधव समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ । उता आज बसेको ओली पक्षको भनाई अुनसार बहुमत सांसद् ओली समूहमा रहेका छन् ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दाबी गरेका छन् ।
राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको बताउँदै उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने समेत बताए ।भट्टराईका अनुसार बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताएको हो ।
भट्टराईले भने, ‘हामीलाई संख्यामा कुनै चिन्ता छैन । हामी बहुमतमा छौँ ।’ उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपनि पास नहुने र कसैले त्यस्तो हिम्मत नगर्ने दाबी गरे । बैठकमा बामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित भएका थिएनन् ।






