काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा सापकोटाले खोप लगाएका हुन् । सरकारले आजदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई खोप लगाउने व्यवस्था गरेको छ ।
संसद सचिवालयले खोप लगाउने १ हजार ५०० जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । सोही विवरणका आधारमा मन्त्रालयले सांसद र कर्मचारीहरुलाई आज बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाएको छ ।
योपनि पढ्नुस् ।
५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु
काठमाडौ । सरकारले ५० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया शुरु गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा बोल्दै उनले ५० लाख डोज खोप किन्ने प्रक्रिया शुरु गरिएको बताएका हुन् । उनले खोपको अभियानलाई अगाडि बढाउन खरिद गर्न लागिएको बताए ।
भारतबाट अनुदानको खोप आइसकेको छ । चीन र बेलायतबाट पनि अनुदानको खोप आउने क्रममा छ । यी बाहेक सरकारले ५० लाख डोज खोप खरिद गर्न लागेको हो । एक करोडभन्दा बढी डोज खोप जम्मा गरी खोप अभियानलाई गति दिइने जानकारी दिइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहले जेष्ठ नागरिकबाट खोप अभियान शुरु गर्ने जानकारी दिए ।






