सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले आफ्नो सुरक्षाको चि न्ता गरेको खबरप्रति आफू अचम्मित भएको बताएका छन् । नेता थापाले प्रधानमन्त्रीले सुरक्षित हुन नसकेको यो देशमा वर्तमान सरकारले नागरिकको सुरक्षा गर्न नसक्ने दाबी गरे । ‘आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने यो सरकारबाट नागरिकले के सुरक्षाको आश र भरोसा गर्ने ? उनले भने ।
प्रधानमन्त्री आफै सुरक्षा माग्दै हिँड्न थाल्नुभएको छ, प्रधानमन्त्री ओलीको बोलीमा अब कुनै तुक छैन । जताततै जुनसुकै बेला जे हुँदो बोलेर हिँड्नु हुन्छ, उहाँले रोजेको प्रतिगमन बाटोलाई अदालतले ठेगान लगाइ दिएपछि प्रधानमन्त्री रनभुल्लमा पर्नुभएको छ ।
अब निर्वाचन आयोगले नेकपाभित्रको विवादलाई चाँडै टुङ्गो लगाइदिएर बाटो खोली दिनुपर्छ’, नेता थापाले भने । कांग्रेसलाई नागरिकले सरकारमा जानभन्दा पनि प्रतिपक्षमा बसेर सरकारका गलत कामको खबरदारी गर्न मत दिएकाले प्रतिपक्षमा नै बसेर संविधानको रक्षा गर्नुपर्ने उनले बताए ।
कांग्रेस अहिलेकै अवस्थामा सरकारमा जान नहुने बताएका छन् । सर्लाहीको धनकौलमा नेपाली कांग्रेसले आयोजना गरेकोे बृहत् आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री थापाले नेकपाभित्र भाँडभैलो मच्चिएका बेला कांग्रेस सरकारमा जान हतार गर्न नहुने बताउँदै गएको पुस ५ गतेभन्दा अघि भएका सबै खाले गल्तीको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जिम्मेवारी लिनुपर्ने बताए ।






