काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारिक नेकपा र सूर्य चिन्ह आफूहरुले पाउने पक्का भएको दाबी गरेका छन् । काठमाण्डौमा भएको पार्टी निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता कार्यक्रममा प्रचण्डले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक नेकपा पार्टी र सूर्य चिन्ह दिने पक्का भइसकेको खबर आफूले पाएको बताए ।
संविधान, राजनीतिक दल सम्बन्धी ऐन र अन्य प्रावधानका आधारमा आफूहरु नै आधिकारिक भएको कुरा निर्वाचन आयोगले पुष्टि गर्न लागेको प्रचण्डको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा सेटिङ गर्न खोजे पनि उनको षड्यन्त्र सर्वोच्चले असफल बनाइदिएको र निर्वाचन आयोगले पनि ओलीको सेटिङलाई भत्काइदिने प्रचण्डले जिकिर गरे ।
संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलाले ओली समूहलाई नराम्ररी पछारिदिएको र हारको झोंकमा जे पायो त्यै भन्दै हिँडेको प्रचण्डको आरोप छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले लाज मान्नुपर्नेमा उल्टै बलियो भएँ भन्दै हिँडेकोमा प्रचण्ड आश्चर्य चकित भएका छन् ।






