काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने बताएका छन् । झापामा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहसंग छिटै वार्ता हुने बताएका हुन् । प्रधानमन्त्री ओलीले विप्लवका कारण देशमा भइरहेको समस्या समाधानकालागी वार्ता गर्न लागिएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘छिटै वार्ता हुँदैछ, तपाईँहरूले घरघरमा बसेर त्यो वार्ता हेर्न पाउनुहुनेछ ।’ उनले संयुक्त राष्ट्र सङ्घले आइतबार मात्रै सार्वजनिक गरेको विश्व शान्तिको सूचकमा नेपालले स्थान सुधार गरेको र दक्षिण एसियामै पहिलो देश बनेको पनि बताए । देशमा विकासको अभूतपूर्व लहर चलिरहेको बताउँदै ओलीले औद्योगिक पार्कले नेपालको व्यापार घाटा घटाउन सहयोग पुग्ने बताए ।






