काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन् । यती एयरलाईन्समार्फत ओली भद्रपुर विमान स्थलमा अवरतण गरेका हुन् । उनलाई प्रदेश १ का प्रमुख सोमनाथ प्यासी, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाइँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलगायतले स्वागत गरेका छन् ।
उनी आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा ‘चाइना नेपाल फ्रेण्डशिप ईण्डट्रियल’ पार्कसहित विभिन्न पुलको शिलान्यास र उद्घाटनका लागि झापा गएका हुन् । ओलीको सचिवालयका अनुसार ओली आज दिनभर उनको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा रहने छन् । उनी पहिलो कार्यक्रमका लागि कमल खोलामा निर्मित पुल उद्घाटनका लागि कमल २ क्याम्पामा पुग्दै छन् ।
१२ः ४५ मा उनको गृहनगर दमक १० र मोरङ जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन कार्यक्रम राखिएको थियो । १ः ४५ मा सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थान रतुवा खोलामा निर्मित पुल उद्घाटन गरि १ः३० मा चाइना नेपाल फ्रेण्डशिप इण्ड्रष्टियल पार्क शिलान्यास समारोहमा पुग्ने छन् । कमल ७ को झर्काहा बजारमा यो कार्यक्रम राखिएको छ ।
दिन भरिका लागि विभिन्न कार्यक्रम राखिए पनि उनको सम्वोधन भने सोही कार्यक्रममा मात्र हुनेछ । सम्वोधन पछि ३ः१५ मा दमक १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने स्थानको रतुवा खोलामा निर्माण भएको पुल उद्घाटन गरि ३ः४५ मा दमक २ पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले रतुवा खोलामा नयाँ पुलको शिलान्यास गर्ने भएका छन् ।
सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ । आधा दर्जनभन्दा धेरै कार्यक्रमहरूमा सहभागी भएर ओली साँझ ५स्३० बजे भद्रपुर हुँदै काठमाडौँ फर्कने कार्यतालिका छ ।






