काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाण्डौमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको छ तर केपी सुध्रिनु र बालुवा पेलेर तेल निस्किनु एउटै भएको अध्यक्ष नेपलले बताएका छन् ।
कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उहाँले नै कोसिस गरिरहनु भएको तर आफुले ‘बालुवा पेलेर तेल निस्किदैन तर पनि कोसिस गर्नुस्’ भनेको बताए । अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारेका छन् । उनले ओली प्रवृति विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।
‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् ।’ उनले भने,‘त्यसो भएकोले तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुस् । बरु आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर जाऔं र संयुक्त सरकार बनाऔं ।’
अहिले प्रतिनिधि सभा पुनःस्स्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए । केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले आरोप लगाए । यसकासाथै अध्यक्ष नेपालले ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत लगाएका छन् । उनले भने, ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’






