काठमाडौ । संसद पुनर्स्थापनपछि नेकपाको विभाजन झनै बल्झिंदै गएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले संसदीय दलको प्रमुख सचेतक रहेका देव गुरुङलाई अचानक हटाएर आफ्नो पक्षका विशाल भट्टराईलाई नियुक्त गरेपछि नेकपा विभाजनलाई बल्झिंदै गएको मान्न सकिन्छ ।
शुक्रबार प्रधानमन्त्री ओलीले बालुवाटारमा भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । ‘प्रक्रिया अनुसार नै प्रधानमन्त्री अर्थात् हाम्रो संसदीय दलको नेताले मलाई पार्टी संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिनुभयो’,भट्टराईले भने ।
भट्टराईलाई प्रमुख सचेतक बनेसँगै नेकपा संसदीय दलको नेता, उपनेता र सचेतक ओली समूहकै भएका छन् । संसदीय दलको नेता प्रधानमन्त्री ओली हुन् भने उपनेता सुवासचन्द्र नेम्वाङ हुन् । पुस ५ गते प्रधानमन्त्री अोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ ।
भट्टराई नियुक्तिपछि गुरुङले आफूहरूले ओलीलाई संसदीय दलको नेताबाटै हटाएकोले अब प्रमुख सचेतक वा सचेतक फेरबदल गर्नुको कुनै अर्थ नहुने प्रतिक्रिया दिएका छन् ।






