काठमाण्डौ । परराष्ट्र मन्त्री एवं नेकपा (ओली समूह) का प्रवक्ता प्रदीप ज्ञवालीले नयाँ सरकार बन्ने सुनिश्चितता नभई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्रीले राजीनामा गरेपछि सात–सात महिनासम्म नयाँ सरकार बन्न नसकेको र १७ पटकसम्म प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अनिर्णित रहेको तीतो अनुभवका कारण प्रधानमन्त्रीले राजीनामा नदिने उनले बताए ।
मन्त्री ज्ञवालीले राजीनामापछि बन्ने सरकारको परिदृश्य प्रस्ट भएपछि मात्र ओलीले प्रधानमन्त्रीबाट राजीनामा गर्ने बताए । ‘नयाँ सरकार बन्ने अवस्था बन्दा र संसद्को इच्छा प्रकट हुँदा प्रधानमन्त्री अन्यथा ढंगले पदमा बस्ने भन्ने हुँदैन, सरकार बनाउने संसद्ले हो संसद् नबस्दै पूर्वानुमान नगरौं, तर जिम्मेवार कार्यकारी प्रधानमन्त्रीले त्यसपछिको परिदृश्यको पूर्वानुमान गरेर मात्र कदम चाल्नु पर्ने हुन्छ,’ ज्ञवालीले भने ।






