काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष बामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा गौतम र दाहालबीच करिब एक घण्टा भेटवार्ता भएको हो । सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तथा दाहाल नेपाल समूहलाई सचिवालय बैठक डाक्न आग्रह गरेका नेता गौतम विहान ७ बजे खुमलटार पुगेका थिए ।
पुनःस्र्थापना हुने बित्तिकै प्रचण्डले पार्टी एकताको अपिल गर्छु भनेर आफुलाई बचन दिएका थिए । तर त्यो बचन प्रचण्डले पुरा नगरेको हुनाले सोही कुरा सोध्नलाई आफु खुमलटार गएको नेता गौतमले बताए । पार्टीलाई एकतामा ल्याउने कसरतमा लागेका नेता गौतमले दाहालसंगको भेटमा आफुसंग दाहालले गरेको बाचा स्मरण गराएको र सोही बाचा अुनसार प्रचण्डलाई एकताको निम्ति वक्तव्य दिन आग्रह गरेको बताएका छन् । ‘एकतामा लाग्नुस्, पार्टी एकताको निम्ति वक्तव्य दिनुस्, पुनःस्र्थापनापछि सबैभन्दा पहिले एकताको अपिल गर्छु भन्नु भएको थियो त्योपनि गर्नु भएन । आफुले बोलका कुराहरु पुरा गर्नुस् ।’ नेता गौतमले भने ।
उपाध्यक्ष गौतमद्धारा राखिएका प्रस्तावलाई सुनेर अध्यक्ष प्रचण्डले पार्टी एकता अपिलको विषयमा आफुले मात्र एक्लो निर्णय गर्न नसक्ने तर टीममा भएका अन्य नेताहरुसंग भने छलफल गर्ने बताएका छन् । प्रचण्डको भनाईलाई उद्धृढ गर्दै नेता गौतमले भने,‘तपाईँले राखेका प्रस्तावमा म एक्लो छैन । मैले टीममा हुनु भएका अन्य नेताहरुसंग यस्को पक्षमा र विक्षमा पनि छलफल गर्न पर्ने हुन्छ । तपाईँले प्रस्ताव राख्नु भयो यो विषयमा हामी अवस्य छलफल गर्ने छौं ।’ सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू भएतापनि अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले पार्टी एक ढिक्का बनाउने बताउँदै आएका छन् ।






