काठमाडौ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला खुशीयाली मनाउँदै दाहाल नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साँटेका थिए । सोही दृश्यका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलले लड्डु खाएर दाहाल र नेपालले के पाउँछन् हेर्नुछ भन्दै आफ्नो अभिव्यक्ति दिएका छन् । साथै उनले सर्वोच्च अदालतले गरेको संसद पुनःस्थापनाको फैसला एउटा सामान्य घटना भएको बताएका छन् ।
बुधबार कृषि मन्त्रालयले सुरुवात गरेको नेपालको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लड्डु खाएर खुशीयाली मनाएका दाहाल र नेपालले के पाउँछन् त्यो आफूले हेर्नेभन्दै त्यसको टिप्पणी गरे । ‘मेरा केही भाईहरुले लड्डु खुवाइ–खुवाइ गरे अरे,’ उनले भने, ‘जित्यौँ हामीले भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन, लड्डु खाएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछ ।’
प्रधानमन्त्री ओलीले दाहाल–नेपालले भोलि पर्सीदेखि आफ्नो राजीनामा माग्न थाल्छन् कि जस्तो आफूलाई लागेको बताए । उनले भने, ‘राजीनामा देऊ, राजीनामा देऊ’ भनेर ।’ उनले यतापट्टि चिन्ता गर्नु नपर्ने बताए । ‘को मान्छे कतिखेर के दु र्घ ट नामा परेर मर्न सक्छ भन्दै उनले भने ‘जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमान्दार,’ ओलीले भने ।
देश विकासको आकांक्षा र संकल्पमा अहिलेसम्म आफूमा कति पनि फरक नभएको ओलीले दाबी गरे । दाहाल–नेपालतर्फ इंगित गर्दै उनले स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्ने बताए । करीब ३८ मिनेटको सम्बोधनका क्रममा केही मिनेट मात्रै राजनीतिक भाषण गरेका ओलीले सत्ता छाड्नु पर्दा पनि आफू दुखी नहुने संकेत गरे ।
शास्त्रका केही हरफ उदृत गर्दै उनले भने, ‘उदाउने खुशीयालीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु परेको दुःखमा पनि मुस्कुराउँदै रातै भएर अस्ताउँछ ।’ बच्चा जन्मिदा रुँदै जन्मने उल्लेख गर्दै उनले भने, ‘शायद सांसारिक दुनियाँमा आएपछि दुःख पाइन्छ कि क्यो हो भनेर रोएको होला । तर मर्दा कोही पनि रुँदैन ।’






