काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सर्वोच्च अदालतले मंगलबार गरेक फैसलालाई विवादास्पद भनेका छन् । थापाले ट्वीट मार्फत सर्वोच्च अदालतले गरेको प्रतिनीधिसभा विघटनलाई बदर गरेर राजनीतिक समस्यालाई अझै बढावा दिएकोभन्दै अदालतको फैसलालाई बिवादास्पद भनेका हुन् । उनले फैसलापछि बरु अस्थिरता बढ्ने दावी समेत गरेका छन् ।
थापाले आफ्नो अफिसियल ट्वीटमा अदालतको फैसला मान्नै पर्ने हुन्छ भन्दै लेखेका छन्,‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ’ थापाले फेसबुक पेजमा लेखेका छन् । साथै थापाले प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेरै फैसला कार्यन्वयन गर्ने जनाएका छन् ।
सर्वोच्चको फैसलापछि ओलीले नैतिकताको आधारमा राजीनामा दिन्छन् कि भन्ने अड्कलवाजी भइरहेका बेला उनले सहजै राजीनामा नगर्ने बरु संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने संकेत पनि गरेका छन् । ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन’ थापाले लेखेका छन् ।






