बाँके । नेपाल परिवार नियोजन सङ्घ बाँकेले सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन तथा प्रजनन स्वास्थ्यका विषयमा सचेतना विस्तार गर्दै सबै महिलाको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विभिन्न पहल गर्दै आएको छ। बाँकेमा सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्याले समेत यस सेवाको आवश्यकता र महत्त्वलाई उजागर गर्ने भएकाले सेवा विस्तारसँगै परिवार नियोजन र प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी समुदायस्तरसम्म पुर्याउन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
नेपाल परिवार नियोजन सङ्घका अनुसार विशेषगरी अपाङ्गता भएका महिलालाई गुणस्तरीय तथा निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने प्रयास भइरहेको छ । प्रजनन स्वास्थ्यसम्बन्धी सेवामा सबै महिलाको पहुँच सुनिश्चित गर्न यस्ता प्रयास महत्त्वपूर्ण हुने सङ्घले जनाएको छ । नेपाल परिवार नियोजन सङ्घका पूर्वकेन्द्रीय सदस्य रोशन श्रेष्ठले स्वस्थ परिवारलाई मुलुकको विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । उहाँले स्वस्थ परिवारबाट मात्रै देशको विकास सम्भव हुने उल्लेख गर्दै परिवार योजनाका विषयमा निरन्तर बहस र छलफल आवश्यक रहेको बताउनुभयो ।
“स्वस्थ परिवारबाट मात्रै देशको विकास सम्भव हुन्छ । परिवार योजनाका विषयमा निरन्तर बहस र छलफल आवश्यक छ ।” उहाँले भन्नुभयो । परिवार योजना बनाउन नेपाल परिवार नियोजन सङ्घले देखाएको अग्रसरतालाई व्यवहारमा कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको श्रेष्ठको भनाइ छ । उहाँले परिवार नियोजन, सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्यका विषयमा जानकारी र सचेतना विस्तार गर्दै नागरिकको स्वास्थ्य तथा स्वस्थ परिवार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको दुई दशकभन्दा बढी भइसकेको छ। संविधानले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरे पनि सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन र प्रजनन स्वास्थ्यका विषयमा निरन्तर सचेतना तथा छलफल आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
नेपालको संविधानको धारा ३८ को उपधारा ९२० ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, मुलुकी अपराध संहिता, २०७४ तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ ले सुरक्षित गर्भपतनसम्बन्धी कानुनी व्यवस्था गरेका छन् ।
कानुनअनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न सकिने व्यवस्था छ । बलात्कार वा हाडनाता करणीबाट रहेको गर्भ, भ्रूणमा गम्भीर समस्या देखिएको अवस्था तथा गर्भ निरन्तर राख्दा महिलाको ज्यानमा खतरा पुग्ने वा शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थामा निश्चित सर्तसहित २८ हप्तासम्म गर्भपतन गर्न सकिने व्यवस्था रहेको अधिवक्ता वसन्त गौतमले बताउनुभएको छ ।
असुरक्षित रूपमा गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव, सङ्क्रमण तथा पाठेघरमा चोट लाग्नेदेखि ज्यान गुमाउनुपर्ने अवस्थासम्म आउन सक्ने भएकाले सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्रै सेवा लिनुपर्ने भेरी अस्पताल नेपालगञ्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकीले सुझाव दिनुभएको छ । सुरक्षित गर्भपतन, परिवार नियोजन र प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीमा सबैको पहुँच स्थापित गर्न सके महिलाको स्वास्थ्य सुरक्षा, अनिच्छित गर्भधारणको जोखिम न्यूनीकरण तथा स्वस्थ परिवार निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सेवा उपलब्ध गराउनुका साथै महिलालाई प्रजनन स्वास्थ्य, परिवार नियोजनका साधन तथा गर्भनिरोधका उपायबारे जानकारी दिनु पनि उत्तिकै आवश्यक रहेको सरोकारवालाको भनाइ छ । स्वास्थ्य कार्यालय बाँके तथा नेपाल परिवार नियोजन सङ्घ बाँकेले यससम्बन्धी सचेतना विस्तार र सेवामा पहुँच बढाउन विभिन्न प्रयास गर्दै आएका छन् ।









