बाँके । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको नौवस्तामा निमार्ण हुन गई रहेको औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा परेको बताउनुभएको छ । बाँके उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।
‘विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिन सरकार तयार छ ।’ मन्त्री भण्डारीले भन्नुभयो,‘ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकियो भने नेपालले अर्थतन्त्रमा नसोंचेको फड्को मार्नेछ ।’ उहाँले रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व रहेको बताउँदै लगानी प्रवर्द्धनमा सरकार गम्भिर भएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकार प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा केन्द्रित रहेर काम गरिरहेको छ ।
नौवस्ता औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा रहेको जग्गाको केही भागमा अव्यवस्थित रुपमा बस्दै आएका बसोबासीकै कारण लामो समयदेखि विबाद हुँदै आएको उक्त क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका बसोबासीहरुलाई व्यवस्थित गर्न स्थानीय सरकार र प्रदेशका सांसदहरुको सहयोगमा मन्त्रालयमा छलफल गरेर विबादित एरियालाई छाडेर अन्यत्र व्यवस्थापन गर्ने विषयमा सहमति भएको उहाँले जानकारी दिनुभयो ।
यसका साथै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा रहेको स्टार पोलीपाईप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गर्नु भएको छ । निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
उहाँले स्टार पोलिपाइपलाई लुम्विनी प्रदेशमा मात्रै नभएर नेपालभरी तथा छिमेकी राष्ट्र भारतसम्म पनि उत्पादित सामाग्रीको बजारीकरण गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।
प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडिपिई, सिपिभिसी, युपिभिसी, बोरवेल तथा गार्डेन पाईप तथा फिटिङको उत्पादन गर्दै आईरहेको जानकारी दिनुभयो । कार्कीले बजारमा आर्थिक मन्दी भएपनि स्टार पोलीपाईपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामाग्रीको उत्पादन गरिरहेको बताउनुभयो । कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाईप तथा फिटिङहरु उत्पादन गर्दै आईरहेको कम्पनीका बिक्रि प्रमुख दिनेशराज विष्टले जानकारी दिनुभयो ।






