बाँके । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय राप्ती उपत्यका देउखुरीले स्थानीय सडक तथा पुल ईकाई ललितपुरसंगको समन्वय तथा सहयोगमा बाँके र बर्दियाको प्रादेशिक सडक सञ्जालको गुरु योजनाका बारेमा लुम्बिनी प्रदेश सभाका सदस्यहरुसंग अन्तरक्रिया तथा छलफल गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले मन्त्रालयले पहिलोपटक प्रादेशिक सडक सञ्जालको गुरु योजनाका बारेमा प्रदेश सभासदस्यहरुसंग विभिन्न चरणमा छलफल गर्न सुरु गरेको बताउनु भएको छ । उहाँले गुरुयोजनाका कारण प्रदेशमा रहेका सडकको अवस्था र नयाँ सडक योजनाको बारेमा जानकारी हुने कुरामा जोड दिनुभयो ।
मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले प्रादेशिक सडक सञ्जाल गुरु योजना अन्तिम चरणमा पुराएको बताउदै गुरुयोजनालाई टेकेर आगामी दिनका लागि योजना निर्माण गरिने बताउनु भयो । उक्त छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले कुनै ठोस आधार बिना बनाईएका योजनाका कारण विभिन्न असहजता खेप्नु परेको कारण प्रदेश सरकारले सडक सञ्जाल गुरुयोजना निर्माण गरी काम गर्दा प्रदेशमा हुने विकास निर्माणलाई समेत टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभासदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले थालनी गरेको प्रादेशिक सडक सञ्जालको गुरु योजनाले प्रदेसको औचित्य पुष्टि गर्ने बताउनुभयो । मन्त्रालयले सुरुवात गरेको यस्तो खालको अन्तरक्रिया प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी चारठाँउमा आयोजना गरी छलफल शुरु गरिने प्रदेश सरकारले जनाएको छ ।






