बाँके । उमेरले झण्डै ६ दशक लाग्न शुरु गरेका छब्बन खाँ यतिबेला बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष बनेका छन् । २०७८ सालको स्थानिय निर्वाचनमा आफ्ना प्रतिद्धन्द्धि हिमांशु यादवलाई १९७५ मतले हराउँदै उनी उक्त पालिकाको अध्यक्ष बनेका हुन् ।
स्वभावले उनी सरल र सहज व्यक्तित्वका रुपमा चिनिन्छन् । परिवारमा राजनीति गर्ने उनी पहिलो व्यक्ति हुन् । उनको परिवारको पुख्यौली पेशा भनेको ईट्टाभट्टाको व्यापार हो । केही समय उनले पनि बाउ बाजेले धान्दै आएको उक्त व्यापारलाई छब्बनले आफै नसम्हालेका पनि होईनन् । तर उनलाई व्यापार भन्दा पनि जनताका लागि केही विशेष गर्नु थियो ।
आफ्नै ईट्टभट्टामा काम गर्ने मज्दुर होऊ्न या साहुका हैसियतले आफ्ना बाबु र बाजे कहाँ आउने कामदार नै किन नहोऊन् जो होही पनि प्रहरी प्रशासका जस्तो सुकै समस्या लिएर आउँथे भने ती समस्यालाई कसरी समाधान गर्ने भनि छब्बनले सोंचिरहेका हुन्थे । ईट्टाभट्टाको मालिक भएर जनताका समस्यालाई समाधान गर्न सकिंदैन भन्ने बुझेका छब्बनले बिस्तारै जनताका हीतमा काम गर्ने बाटो खोज्न थाले ।
सोही क्रममा उनले नेपाली कंग्रेसमा पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री सुशील कोईरालालाई २०३६ सालमा भेट्ने मौका पाएका थिए । त्यतिबेला उनी भर्खर १६ वर्षमा लागेका थिए । त्यो कलिलो उमेरमा एउटा परिपक्क नेतालाई भेट्न पाउनु नै छब्बनको राजनीति पृष्ठभूमिको आधार बलियो हुनु हो । सानै उमेरमा शुसील कोईरालाको साथ र संगत पाएर होला उनीमा शुसील कोईरालाको छबी, आचरण र स्वभावका केही अशं देख्न सकिन्छ ।
बाउबाजेले वर्षौंदेखि धानेको पुख्यौली पेशालाई छाडेर नेताको पछाडी लाग्दा छब्बनालाई आफ्नै परिवारमा केही समय त संघर्ष गर्नै पर्यो तर विस्तारै राजनीतिप्रतिको उनको मोहको अगाडी उनका अभिभावकले पनि घुँडा टेक्नु पर्यो । अन्ततः छब्बनले परिवारको साथ पाएपछि आफ्नो राजनीति यात्रालाई निरन्तरता दिने सोंच बनाए ।
उनले पहिलो पटक चुनाव लड्ने सोंचे र पार्टीमा २०५३÷२०५४ सालमा गाविसको चुनाव लड्नका लागि टिकटको माग गरे । पार्टीले उनलाई बेला नभएको बताउँदै टिकट दिन नमानेपछि पार्टी भित्रै विद्राह गरेर उनले स्वतन्त्र रुपमा चुनाव लड्ने निर्णय गरे र जीते पनि । त्यतिबेला उनी दोब्बर मतका साथ बेलाहरी गाविसको अध्यक्ष पदमा विजयी भएका थिए । विजयी पश्चात उनी फेरी नेपाली कंग्रेस पार्टीमा नै प्रवेश गरेको छब्बनले बताए ।
पञ्चे वर्षिय योजना अन्तर्गत उनले पाँच वर्ष गाविस चलाए । सोही क्रममा आफुले गाउँघर र जनताका समस्यालाई नजिकैबाट बुझ्ने मौका पाएको छब्बनले बताए । जनतासँग घुलमिल हुँदै गर्दा पाँच वर्ष बितेपछि गर्न चाहेको काम र बनाएका थुप्रै योजनाहरु अधुरो रहेकाले उनलाई त्यो कुराले छट्पटी बनाई रह्यो ।
त्यही छट्पटीलाई मेटाउनका लागि उनी पुनहः २०७४ सालमा गाउँपालिकाको निर्वाचनमा मैदानमा उत्रिए । तर त्यतिबेला उनले नेकपा एमालेका राम निवास यादवसंग ७३ मतले पराजयको सामना गर्नु पर्यो । कहीले जित्दै त कहीले हार बोहोर्दै राजनीतिमा निरन्तर लागी रहेका छब्बनले अन्ततः २०७८ सालको स्थानिय निर्वाचनमा फेरी पालिकाको जिम्मेवारी सम्हाल्ने मौका पाए ।
पालिका अध्यक्ष भएपछि उनले गरेका कामः
शिक्षाः
मधेशी र मुस्लिमको बाहुल्यता बढी भएको उक्त पालिकामा कन्या विद्यालय सञ्चालन भएको छ । प्राथमिक विद्यालयलाई कक्षा १० सम्म बनाईएको छ भने कक्षा १० सम्मको पढाईलाई प्लस टूमा सञ्चालन गरिएको छ । छात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि र विबाहका लागि सहज होस् भन्ने उद्येश्यले २० वर्ष सम्म बिमाको व्यवस्था पनि गरिएको छ ।
बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ। शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरूको लागि विद्यालय सञ्चालन गरिएको हो ।
जानकी ३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। उनका अनुसार यो विद्यालय सञ्चालनसँगै शुक्रबारदेखि भर्ना अभियान पनि सुरु गरिएको छ ।
यस वर्ष करिब दुई सय छात्रालाई विद्यालयमा भर्ना गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाले यस वर्ष ९० लाखको लागतमा छात्रा विद्यालय सञ्चालन गरिरहेको छ । संघीय सरकारको विशेष अनुदानबाट आएको ५० लाखबाट गाउँपालिकाले विद्यालयको पर्खाल र शौचालय निर्माणको काम गरिरहेको छ ।
विद्यालय सञ्चालन गर्न गाउँपालिकाले ४० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिए । गाउँपालिकाले विद्यालयमा छात्राका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोसाक र आउन जानका लागि निःशुल्क यातायात, स्वच्छ पानी तथा शौचालयको पनि व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए ।
उक्त विद्यालयमा गाउँपालिकाका छवटै वडाका छात्रालाई समावेश गर्नेगरी पालिकाले यातायातको व्यवस्था गरेको छ । आवश्यकताअनुसार यातायातका साधन थप्दै जाने उनले बताए । विद्यालय सञ्चालनका लागि शिक्षिकाको मात्रै व्यवस्था गरिएको छ । मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा शिक्षालाई प्राथमिकता दिई काम गरिरहेको अध्यक्ष खाँको भनाइ छ ।
गाउँपालिकामा प्राथमिक विद्यालय १६, आधारभूत विद्यालय तीन र मावि पाँच छन् । यहाँ १४ मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ । माविसम्म सीमित रहेको सो गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताउनुभयो ।
भौतिक संरचनाको विकासः
उक्त पालिकाको १४ भित्री बाटो पक्कि बनाईएको पालिका अध्यक्ष खाँ ले बताउनुभयो । उहाँका अुनसार सोही पालिकाको पिप्रहवा चोकदेखि सहादतपुर गाउँसम्मको मुख्य बाटो पनि पक्कि बनाईएको छ । यस वर्ष ४५ प्रतिशतले बजेट कटौति भएको हुँदा योजना तर्जुमा गर्न गाह्रो भएको पनि उहाँको भनाई छ ।
उक्त पालिका ६३.३२ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ भने ७ हजार २ सय ६३ घरधुरी रहेको छ । जस्मा २०७८ को जनगरणा अुनसार ४६ हजार ५ सय ३६ जनसंख्या रहेको छ । उक्त जनगरणा अनुसार पुरुषको संख्या २३ हजार ३ सय ८६ रहेको छ भने मलिलाको कुल संख्या २३ हजार १ सय ५० रहेको छ ।






