बाँके । संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुले न्यूनतम पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् । श्रम कार्यालयसँग गरिएको सम्झौ अनुसार संस्थागत विद्यालयहरुले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक नदिएको गुनासो बढ्न थालेपछि कोहलपुर नगरपालिकाले ती विद्यालयहरुलाई कडाइ गर्न थालेको छ ।
कोहलपुर नगरपालिकाका अधिकांश संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीहरुलाई न्यून पारिश्रमिकमा काम गर्न लगाएको पाइएपछि संस्थागत विद्यालयहरुलाई तलवभत्ता निकासाको बैंक सिटको प्रतिलिपि फागुन ६ गतेसम्म बुझाउन परिपत्र गरिएको कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत रविलाल मिजारले जानकारी दिनुभयो ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्ने गरी ती विद्यालयमाथि स्थानीय सरकारको ध्यनाकर्षण भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनुभयो । ‘संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विद्यालयले न्यूनतम पारिश्रमिक समेत नदिएको गुनासो गर्दै आउनुभएको थियो ।’ नगर प्रमुख आचार्यले भन्नुभयो,‘ती गुनासाहरुको सम्वोधन गर्ने गरी यो प्रक्रियालाई अगाडि बढाएका छौं । न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्ने सवालमा स्थानीय सरकार प्रतिबद्ध छ ।’
संस्थागत विद्यालय आफैले श्रम कार्यालयलगायतसँग शिक्षक कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिने भनेर सम्झौता गरेका छन् । तर अधिकांश संस्थागत विद्यालयहरुले शिक्षक कर्मचारीलाई पाँच÷सात हजार मात्रै पारिश्रमिक दिने गरेको पाइएको छ । तलवभत्ता निकासाको बैंक सिटको प्रतिलिपि अनिवार्य शिक्षा शाखामा बुझाउनु पर्ने भएपछि अव संस्थागत विद्यालयले शिक्षक कर्मचारीको पारिश्रमिक बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्नेछ ।
पारिश्रमिक व्यक्तिकै खातामा जाने भएपछि शिक्षक कर्मचारीहरु विद्यालयको शोषणबाट मुक्त हुने अपेक्षा शिक्षा शाखाको छ । न्यूनतम पारिश्रमिक नदिने विद्यालयमाथि पालिकाले कडाइ गर्ने शाखा अधिकृत मिजारले बताउनुभयो । कोहलपुरमा ५६ वटा संस्थागत विद्यालय थिए । तीमध्ये ७ वटा विद्यालय भने निष्क्रिय अवस्थामा रहेको पाइएपछि अभिलेखबाट हटाइएको छ । अहिले नगर क्षेत्रमा ४९ वटा संस्थागत विद्यालय चालु अवस्थामा रहेका छन् ।






