रुपनी जि एम, बाँके । देशकै कान्छो राष्ट्रिय निकुञ्जका रुपमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज १२ औं वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रर्वद्धन अभियानमा जुटेको छ । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित गरिएको यस निकुञ्जमा पर्यटन प्रर्वद्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार शाहले बताउनुभयो ।
वरिष्ठ संरक्षण अधिकृत शाहले यो वर्षभरी नयाँ मार्गहरु निमार्ण गर्ने र निकुञ्जको परिसरलाई सुन्दरीकरण गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो उद्येश्य नै निकुञ्जमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने रहेको छ । यसका लागि हामीले निकुञ्जमा नयाँ मार्गहरु निमार्ण गर्दै निकुञ्ज परिसरलाई सुन्दरीकरण गर्ने योजना बनाएका छौं ।’ उहाँले पर्यटन प्रवद्र्धनका लागि विस्तृत योजना बनाईरहेको र छिट्टै नै त्यसलाई कार्यान्वयनमा ल्याएर बाँके निकुञ्जलाई देश विदेशमा परिचत गराउने उद्येश्य रहेको जनकारी दिनुभयो ।
विदेशी तथा आन्तरीक पर्यटकलाई भित्र्याउन बाँके राष्ट्रिय निकुञ्जको सहकार्य र राप्तीसोनारी गाउँपालिकाको प्रर्वद्धनमा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) ले सोमबार बर्दिया र बाँकेका पर्यटकसँगै पर्यटन व्यवसायीहरुलाई जंगल सफारी गराएको छ । १२ औं वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रर्वद्धनका योजना र कार्यक्रमहरु अघि सार्दै सोमबार बर्दिया र बाँकेका पर्यटकसँगै पर्यटन व्यवसायीहरुलाई जंगल सफारी गराउने क्रममा यस क्षेत्रका राजनीतिक दल, होटेल व्यावसायि, विभिन्न संघसंस्था, चिकित्सक लगाएतले ऐकेवद्धता जनाएका छन् ।
नाट्टाका संयोजक श्रीराम सिग्देलले पर्यटन प्रवद्र्धनका लागि निकुञ्ज भित्र धेरै सम्भावना र पुर्वाधार हुँदाहुँदै पनि यसको प्रचारप्रसार हुन नसकेको बताउनुभयो । निकञ्जले विस्तारै विकासमा फड्को मारिरहेको बताउँदै निकुञ्ज विकासका लागि तीनै तहका सरकारले चासो दिन आवश्यक रहेको उहाँको भनाई थियो । ‘बाँकेमा निकुञ्जसँगै अन्य धेरै पर्यटकिय स्थलहरु रहेका छन् । ती सबैको विकासका लागि तीनै तहका सरकारको ध्यान जान आवश्यक छ ।’ उहाँले भन्नुभयो ।
निकुञ्ज कार्यालय परिसर ओभरीबाट जंगल प्रवेश गरेको सफारी ठुरियाबाट १ नम्बर वनपथ हुँदै झुरीयाखोला, मुगुवाखोला, खैरीखोलादेखि ७ नम्बर वनपथको बाटोबाट अगैया निस्किएको थियो । सफारीका क्रममा बंदेल, चित्तल, हरिण, लंगुर (सेतो बाँदर) लगाएत विभिन्न प्रजातिका पंक्षि देखिनुका साथै बाघको आवाज पनि सुनिएको थियो । निकुञ्ज भित्र ठाउँठाउँमा वन्यजन्तुलाई पानी पिउनका लागि बनाइएको सोलार जडित पानी पोखरी र मचानको अवलोकन पनि गरिएको थियो ।
निकुञ्जभित्रको रहेको वनपथमा झण्डै एक दर्जन गाडीले सफारी गरिएको थियो । सफारीमा गएकाहरुलाई निकुञ्ज सुरक्षामा तैनाथ खटिएको नेपाली सेनाको अर्जुनवाण गणले सुरक्षा प्रदान गरेको थियो । यस निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज तीन सय ४३ वर्ग किमी मध्यवर्ती क्षेत्रमा पर्दछ । निकुञ्जभित्र पूर्व पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर बबई रत्नराजमार्ग ३० किमीको रहेको छ । बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना भएको यस निकुञ्जको बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग सिमाना जोडिएको छ ।
निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीअन्तर्गत ५७ औँ स्थानमा राखेको छ । यहाँ बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर पाईन्छन् । जैविक विविधताको दृष्टिले आठ वटा पारिस्थितिकीय प्रणाली, एक सय २४ वनस्पति, ३४ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी पन्छी, ५८ प्रजातिका माछा, २४ प्रजातिका घस्रिने (सरीसृप) तथा छ प्रजातिका उभयचर प्राणी पाइन्छ ।
सालक, हुँडार, चौका, जङ्गली हात्ती, पाटेबाघ, कालो गरुड, राजधनेश, अजिङ्गर, सुनगोहोरो लगायत संरक्षित वन्यजन्तु पनि निकुञ्जमा रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा रहेका सात स्तनधारी यस निकुञ्जमा पाइन्छन् ।
तस्बिर,,,,,
















