बाँके । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड भारतीय रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आइतबार नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्ज विमान स्थलमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गर्नु भएको हो ।
एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी गर्यो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार प्लास्टिक तार्पोलिन र त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग हजार थान, ब्ल्यांकेट १००० थान, त्यसैगरी ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटा, र केही कार्टून रहेका छन् ।
राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको राजदुत श्रीवास्तवले बताउनुभयो । ‘नेपाल हाम्रो छिमेकी राष्ट्र हो । यहाँ पर्ने विपदमा भारत जहिले पनि सहयोगी भूमिका उभिन्छ र उभिने छ ।’ राजदुत श्रीवास्तले भन्नुभयो,‘भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्नेछ ।’
भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो ।
तस्बिर…….








