बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा बुधबारेखि सञ्चालन हुन गई रहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ मा सुरक्षा व्यवस्थापन राम्रो बनाउन सुझाव दिनु भएको छ । सोमबार प्रजिअ पोखरेल र बाँके प्रहरी प्रमुख सुवास चन्द्र बोहराले खेल मैदानको अनुगमन गर्ने क्रममा आयोजकलाई यस्तो सुझाव दिनु भएको हो ।
अनुगमनका क्रममा प्रजिअ पोखरेल र एसपी बोहोराले बालबालिका, अपाङ्ग, महिला, बृद्धबृद्धा तथा अशक्त व्यक्तिहरुको सुरक्षा र प्याराफिटमा बसाई व्यवस्थापन प्रभावकारी रुपमा मिलाउन पनि सुझाव दिनु भएको थियो । ‘खेलप्रेमीहरुलाई सुरक्षाको व्यवस्थापन मजबुद हुनुपर्छ’ प्रजिअ पोखरेलले भन्नुभयो,‘खेलमा विशेष गरेर बालबालिका, अपाङ्ग, महिला, बृद्धबृद्धा तथा अशक्त व्यक्तिहरुको सुरक्षामा ध्यान दिनु पर्छ ।’ प्रजिअ पोखरेलले भन्नुभयो ।
कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले पहिलो पटक गोल्ड कप हुँदा खेल प्रेमीहरुको बसाई व्यवस्थित बनाउन आयोजकले पुर्ण ध्यान दिएको बताउनुभयो । अनुगमनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्री, खेल संयोजक राम बहादुर मल्ल, कोच जनक केसी, कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरी कठायत लगायत क्लबका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागिता रहने छन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुनेछन् ।






