बाँके । बाँकेको ओभरीमा रहेको शम्शेरगञ्ज पार्क स्थापना भएदेखि सञ्चालनमा आउन सकिरहेको छैन । बाँकेको रापितसोनारी गाउँपालिका ८ ओभरीमा स्थापना गरिएको उक्त पार्क वि. सं. २०७६ सालमा स्थापना गरिएको थियो ।
वडाध्यक्ष सालिकराम डाँगीका अनुसार स्थापना भएदेखि पार्क सञ्चालनमा आउन नसक्दा हालसम्म पार्कको गेटमा ताल लगाईएको छ र पार्क बन्द अवस्थामा रहेको छ । भगवती सामूदायिक वनमा स्थापना गरिएको उक्त पार्कलाई गाउँपालिकाको बजेटले निमार्ण गरिएको अध्यक्ष डाँगीले बताउनुभयो ।
अध्यक्ष डाँगीका अनुसार पर्यटनप्रवद्र्धनलाई टेवा पुग्ने उद्येश्यले निमार्ण गरिएको उक्त पार्कलाई सामूदायिक वनले आफ्नो केही जग्गा छुट्टयाएर पार्क निमार्णका लागि हस्तान्तरण गरेको थियो । ०७४ सालमा स्थानिय सरकारले पार्क निमार्ण गरेको र पार्क निमार्ण पश्चात आफ्नै आन्तरिक द्धन्द्धका कारण सञ्चालनमा आउन नसकेको अध्यक्ष डाँगीको भनाई छ ।
सोही सन्दर्भमा भवति सामूदायिक वनका अध्यक्ष टिकाराम वलीका अनुसार स्थानिय सरकारले बजेट पास नगरिदिएको हुनाले पार्क सञ्चालमा आउन नसकेको बताउनुभयो । ‘राप्तिसोनारी गाउँपालिकाका पुर्व अध्यक्ष लाहुराम थारु र वडा नं. ८ का पुर्व अध्यक्ष खुम बहादुर बस्नेतको पहलमा पाँच वर्षसम्म निरन्तर बजेट आयो । कोरोना कालमा दुई वर्ष बजेट फिर्ता भएपनि तीन आएको बजेटले पार्क निमार्ण गरियो ।’
उहाँले भन्नुभयो,‘त्यही बजेटले नै पार्कको गेट निमार्ण गर्ने देखि तारबार सम्मको काम भएको छ । उहाँहरुको कार्यकाल सकिएपछि हाल बजेट आउन पनि छोड्यो र पार्क निमार्ण कार्य बीचैमा रोकियो ।’
स्थानिय सरकारबाट बजेट पास नहुँदा पार्क हेरालुलाई समेत मासिक तलब दिन नसकेर निकालिएको भवति सामूदायिक वनका अध्यक्ष वलीले बताउनुभयो । उहाँका अनुसार वर्तमान पालिका अध्यक्ष तप्त पौडेल र वडाध्यक्ष सालिकराम डाँगीको नेतृत्वमा बजेट पास हुन नसक्दा पार्क निमार्णका अधुरा काम पुरा हुनबाट रोकिएको छ ।
‘पार्कमा तारबार र फुलहरुको विरुवा लगाउने काम सकिए पनि तर बत्ति र पानीको व्यवस्था हुन बाँकी नै छ ।’ अध्यक्ष वलीले बताउनुभयो । उहाँले पार्क निमार्ण कार्य सम्पन्न गरेर सञ्चालन ल्याउनका लागि भगवति सामूदायिक वनलाई नै जिम्मा दिने हो आफुले पार्क सञ्चालनमा ल्याउने पनि बताउनुभयो । पार्क निमार्णका लागि भगवती सामूदायिक वनले ३२ हेक्टर जग्गा पार्कलाई हस्तातरण गरेको छ ।






