बाँके । बाँकेको कोहलपुरमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक १५ गतेदेखी रेसिङ साहारा क्लब बाँकेको आयोजनामा शुरु हुन गई गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष चक्र क्षेत्रीले गोल्ड कपको विजेता टिमले नगद ८ लाख र तथा उपविजेताले नगद ४ लाख प्राप्त गर्ने बताउनुभयो । ‘नकआउट’ प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगितामा आयोजक टिमसहित स्वदेशी र विदेशी गरी ८ वटा टिम सहभागि हुने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘गोल्डकप खेल्न विदेशी टिम कोहलपुरका लागि हिडिसकेको छ ।’ खेल हेर्न आउने दर्शकहरुसँग केही शुल्क लिने आयोजकले जनाएको छ । आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने निश्चित भएको आयोजकले जनाएको छ ।
अध्यक्ष चक्र क्षेत्रीका अनुसार गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकम लगायतले सहकार्य गरेको छ ।
गोल्डकपको माध्यममार्फत यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ । गोल्डकप खेल्न आउने स्वदेशी र विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज, प्रशिद्ध शक्तीपीठ बागेश्वरी मन्दिर लगायत बाँकेको पर्यटकीय क्षेत्रको अवलोकन गराईने छ ।
प्रतियोगिता सञ्चालन गर्नका लागि स्थानीय स्तरबाट पनि स्वतःस्र्फुत रुपमा सहयोग प्राप्त भएको आयोजकको भनाई छ । ‘गतवर्षको कमीकमजोरी तथा चुनौतीलाई सुधार गरेर हामीले यसवर्ष ब्यवस्थापनमा विशेष ध्यान दिएका छौं,’ अध्यक्ष क्षेत्रीले भन्नुभयो ।
गतवर्ष पहिलो पटक आयोजना गरिएको कोहलपुर गोल्डकपको उपाधी एफसी क्लब क्यामरुनले हात पारेको थियो । ब्वाईज युनियन क्लब काठमाण्डौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो ।
पत्रकार सम्मेलनमा उपस्थित भएका बाँकेस्थित सम्बद्ध सरोकारवालाले आवश्यक सुझावसहित गोल्डकप सफलताको शुभकामना दिएका थिए । पत्रकार सम्मेलनमा गोल्डकपको ‘टिसर्ट’ समेत सार्वजनिक गरिएको थियो ।






