काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा भई रहेको वेथितिलाई सुधार्ने बताउनु भएको छ । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई बिहीवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा भई रहेको कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउँदै यस्तो बताउनु भएको हो ।
उहाँले स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गर्नुभयो । वीर अस्पताललाई अझै विस्तार गरेर सुविधा सम्पन्न बनाउन सरकारले थप लगानी गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘चिकित्सकको पेसागत सुरक्षा, हित र वृद्धि विकासमा सरकार सचेत र गम्भीर छ ।
पछिल्लो समय स्वास्थ्यकर्मीहरूमाथि भइरहेका आक्रमणलाई सरकारले र सरकार प्रमुखको हैसियतले मैले गम्भीर रूपमा लिएको छु । यसबारेमा सरकारले स्वास्थ्यकर्मीहरूसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र त्योअनुसारको गृहकार्य गरिसकेको छ । स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको छ । स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन अपिल गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताउनुभयो । संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।






