बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले भेरी अस्पताल स्तरोन्तिका लागि मन्त्रालय सधैं तयार रहेको बताउनुभयो । बिहीबार भेरी अस्पतालको अवलोकन गर्दै मन्त्री बस्नेतले उक्त अस्पताललाई अझैं व्यवस्थित गराउन मन्त्रालयले आवश्यकीय बजेट छुट्याउने बताउँदै उक्त कुरा बताउनु भएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो,‘मन्त्रालयले यो अस्पतालको आन्तरिक र बाह्य दुवै पक्ष व्यवस्थापनका लागि धेरै शिर्षकमा बजेट पठाएको छ । अझैं व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवशकिय बजेट पठाउन मन्त्रालय तयार छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले अस्पतालको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिनुभयो ।
मन्त्रीले बस्नेतले एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै त्यस्तालाई अस्पतालले अन्यत्र सरुवाको प्रकृया अघि बढाउन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाईएको छ । यो विषयमा व्यवस्थापन समिति गम्भिर भएर सरुवाको प्रकृयालाई अघि बढाउन म आग्रह गर्दछु ।’
गरिब तथा विपन्न परिवारका विरामीहरुले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनु पर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो । पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रुपमा चिनिएको भेरी अस्पतालमा विरामीहरुसँग नम्र र शिष्ट भएर काम गर्न चिकित्सक र कर्मचारीलाई मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।






