बाँके । पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भैरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ । तीन बर्षदेखिको प्रयास पछि झण्डै २४ करोड हालको मूल्य पर्ने विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रि टि एमआरआइ मेसिन मंगलबार भेरी अस्पतालमा आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिनुभयो ।
प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईले भेरीमा सुविधासम्पन्न एमआरआइ मेसिनको उपलब्धता सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धी रहेको बताउनुभयो । ‘तीन बर्षदेखिको प्रयास पछि अस्पतालमा मेसिन आइसकेकाले यथासम्भव स्रोत र साधनबाट यसलाई सञ्चालन गरी आम जनताको स्वास्थ्य सेवामा सहज पहुच उपलब्ध गराउने छांै । यस्ले सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धी हासिल गर्नेमा हामी विश्वस्त छौं ।’ उहाँले भन्नुभयो,‘आजैदेखि यसको इन्स्टलेसन शुरु हुन्छ । त्यसका लागि पूर्वधार तयार गर्न यसअघि नै नयँ भवनमा इमरजेन्सी व्यवस्थापन गरिसकेका छौ ।’
तीन बर्ष अघि डा. प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा भेरीमा सेवाको विशिष्टिकृत प्रयासलाई तिव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा. थापा नेतृत्वले एमआरआइका लागि पहल गरेका थिए । १८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआइ मेसिनका लागि डेढ बर्षअघि खुल्ला टेण्डर मार्फत एलसी गरिएको थियो । तर, विभिन्न प्रशासनिक झमेला झेलेको खरिद प्रक्रियाले अन्ततः अस्पतालका पक्षमा निर्णय भएपछि सार्थकता पाएको हो । जर्मनीबाट ल्याइएको एमआरआइ मेसिन जुलाई १७ मा काठमाडौं झारिएको थियो ।






