बाँके । नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्ती मगरले ‘इन्टरप्राइजिग ओमन अफ द इएर’–२०२३ अवार्ड प्राप्त गर्नुभएको छ । काठमाण्डौमा एक भब्य समारोहमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै बिन्दुले नगद ५१ हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गर्नुभएको हो ।
स्ट्याण्र्ड चार्टर्ड बैंकको मुख्य प्रायोजनमा ‘द बिजनेस एज’ ले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा बाँकेको पुष्प व्यवसायमा गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको थियो । बाँकेमा बिन्दुले व्यवसायिक रुपमा पुष्प खेती गर्दै आउनु भएको छ ।
विगत ८ वर्षदेखि नेपालगन्जको औद्योगिक क्षेत्र अगाडी चर्ती फ्लोरा नामक पुष्प बिक्री केन्द्र सञ्चालनमा रहेको छ । शुरुमा १० कठ्ठा जमिनमा सयपत्री फूल उत्पादन गरेर पुष्प व्यवसायी बन्नु भएकी बिन्दुले हाल २ विघा जमिनमा सयपत्री, मखमली, गोदावरी फूलहरू उत्पादन गर्दै आउनु भएको छ ।
सोही समारोहमा ७ वटै प्रदेशका १, १ जना महिला उद्यमीलाई पनि नगद ५१ र सम्मान पत्र सहित अवार्ड वितरण गरिएको थियो । आयोजकका अनुसार सुदूरपश्चिम प्रदेशबाट संगिता खड्का, कर्णाली प्रदेशबाट सिला नेपाली, गण्डकीबाट सुकुन रसाइली बिक, बागमतीबाट अनुष्का श्रेष्ठ, मधेश प्रदेशबाट चनचला दास र कोशी प्रदेशबाट डिना प्रधानले अवार्ड प्राप्त गर्नु भएको थियो ।






