बाँके । बाँकेका आठ वटै पालिकाले बजेट सार्वजनिक गरेका छन् । अषाढको दोश्रो हप्ता भित्र नै आर्थिक वर्ष २०८०–०८१ का लागि बाँकेका आठ वटै पालिकाले नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका हुन् । आठ वटै पालिकाले विशेष गरी शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा वजेट विनियोजन गरेका छन् । सबै पालिकाको कुल बजेट ६ अर्व ५३ करोड १७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको बजेट
नेपालगन्ज उपमहानगरपालिकाले चालू आवको भन्दा बढि वजेट प्रस्ताव गरेको छ । उक्त पालिकाले एक अर्व ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको उपमेयर कमरुद्दिन राईले बताउनुभयो । उहाँका अनुसार प्रस्तावित वजेट चालू आर्थिक बर्षभन्दा चार करोड बढी हो ।
नेपालगन्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षका लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक आयको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको उपमेयर राईले बताउनुभयो ।
उपप्रमुख राईका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजश्व÷अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार र प्रदेश सरकारहरुबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने छ ।
नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रबद्र्धनलाई प्राथमिकता दिइएको बताउनुभयो । नीति तथा कार्यक्रममा विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच बर्षभित्र क्षय रोगमुक्त उपमहानगर घोषणा गर्ने, त्यसैगरी जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।
यस्तै होटल व्यवसायीसंगको सहकार्यमा होटल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने, बर्षातको समयमा हुने डुबान कम गर्नको लागि नालीहरुको प्रभावकारीरुपमा सरसफाई तथा व्यवस्थापन गर्ने, नेपालगन्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी वडा नम्बर २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गर्ने,
आफ्नै भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण कार्यलाई प्राथमिकता दिने, बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
अब्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससंगै वरपरका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गरी सामूहिक बस्ती विकास गर्ने कार्यका लागि आवश्यक पहल गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने, नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्ने, डिजिटलाइज्ड सेवा प्रदान गर्ने विषयहरु नीति तथा कार्यक्रममा समेटिएको मेयर विष्टले बताउनुभयो ।
कोहलपुर नगरपालिकाको बजेट
बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०–०८१ का लागि एक अर्व सात करोड ७४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । केन्द्रिय र प्रदेश सरकारबाट प्राप्त अनुदान र स्थानीय स्तरमा संकलन हुने राजस्वको आधारमा वजेट विनियोजन गरिएको मेयर पूर्णप्रसाद आचार्यले बताउनुभयो ।
कोहलपुर नपाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारको विकास, शिक्षकलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाइ आदानप्रदान, ‘विद्यार्थीसँग अग्रज’ कार्यक्रम संचालन गरिने भएको छ । शिक्षकको क्षमता अभिवृद्धि गर्न र पेशाप्रति सकारात्मक बनाउन ‘म जिम्मेवार शिक्षक’ अभियान संचालन गर्ने नीति अघि सारिएको उहाँले बताउनुभयो ।
त्यसैगरी कोहलपुर नपाले टिनका छाना विस्थापन गर्ने नीति अघि सारेको छ । १३ औँ नगरसभामा शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख आचार्यले सामुदायिक विद्यालयमा टिनको छाना विस्थापन गर्ने बताउनुभयो । उहाँले नगरभित्र संचालित एक सामुदायिक विद्यालयलाई आवासिय विद्यालयको रुपमा विकास गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।
‘सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई प्रोत्साहन र पढ्दै कमाउँदै कार्यक्रम संचालनका लागि सम्भावित विद्यालय छनौट गरी जिवनोपयोगी सीप एवम् शिक्षामा जोड दिने, शैक्षिक तालिम केन्द्र एवम् अनुसन्धानमूलक केन्द्र स्थापना गरी शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न खोजमूलक अनुसन्धान कार्य अगाडि बढाइने भएको छ’ नगर प्रमुख आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख आचार्यका अनुसार कोहलपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै सरुवा रोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोग गर्ने नीति लिएको छ । सिकलसेल एनिमिया लगायतका रोगका विरामीको निशुल्क र नियमित स्वास्थ्य परीक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीको पुनर्स्थापना गर्ने कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो ।
राप्ती सोनारीको बजेट
बाँकेको राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले विभिन्न शिर्षकमा खर्च गर्ने गरि उक्त बजेट गाउँसभामा पेश गर्नुभएको हो । गाउँपालिकाले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, पर्यटन, सामाजिक विकास लगायतलाई जोड दिएको छ ।
नरैनापुर गाँउपालिकाको बजेट
बाँकेको नरैनापुर गाउँपालिकाको बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । उक्त पालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ४८ करोड ६२ लाख रुपैयाँको अनुमानित वजेट गाउँ सभामा पेश गरेको छ । नरैनापुर ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष ०८०–०८१ का लागि कूल ४८ करोड ६२ लाख दुई हजार आठ सय ७३ रुपैयाँको अनुमानित वजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
स्थानीय संचिति कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५ करोड ७० लाख विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ करोड ३० लाख विनियोजन गरेको गाउँपालिकाले पूर्वाधार बिकासको लागि १० करोड बिनियोजन गरेको छ । सामाजिक बिकास क्षेत्रको लागि २० करोड बजेट विनियोजन गरिएको छ ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ५ करोड बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । संघ र प्रदेश सरकारबाट प्राप्त विभिन्न योजनाको लागि समपूरक कोषको लागि रु। दुई करोड विनियोजन गरिएको बताउँदै उहाँले खस्कदै गरेको शैक्षिक गुणस्तरलाई उकास्नेगरी सामुदायिक विद्यालयले प्रदान गर्दै आएका सेवालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
अध्यक्ष शाहका अनुसार अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालमा अध्ययनरत बालबालिकालाई १२ कक्षासम्म क्रमशः निःशुल्क शिक्षा प्रदान गर्ने ब्यवस्था पालिकाले गरेको छ । सामुदायिक सिकाई केन्द्ररुलाई प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गर्ने नीति लिएको उहाँले बताउनुभयो । विद्यालयमा विद्युत जडानको सुनिश्चितताका साथै सबै शैक्षिक संस्थाहरुमा इन्टरनेट सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।
नयाँ बजेटमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पुर्याउन, परम्परागत तथा धार्मिक विद्यालयमा कक्षा पूरा गरेका बालबालिकालाई माथिल्लो कक्षा अध्ययनका लागि कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयमा आधुनिक सूचना तथा प्रविधिको प्रयोग गरि शिक्षण सिकाइ गर्न सक्ने बनाउन सोहि अनुरुप भौतिक निर्माण, विद्युतीकरण तथा आईसीटीमा पहुँच र प्रयोग सुनिश्चितता गर्न आवश्यक सहयोग गरी आधुनिक सूचना प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिइनेछ ।
प्रधानाध्यापक, शिक्षक तथा शिक्षा सम्बद्ध व्यक्ति तथा संस्थाहरुको नेतृत्व क्षमता विकास गरिनेछ । शैक्षिक मनोपरामर्शका लागि आवश्यक कार्यक्रम तय गरिनेछ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयस्तरीय तथा अन्तरविद्यालयस्तरीय विविध शैक्षिक कार्यक्रम तथा शैक्षिक अनुभव आदानप्रदानको अवसरहरु सिर्जना गरिने उल्लेख गरिएको छ ।
डुडुवा गाउँपालिकाको बजेट
बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि ४८ करोड ८४ लाख ३४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद, बन तथा बातावरण, विकास निमार्ण लगायतका २१ बुँदे नीति तथा कार्यक्रम तय गरिएको छ ।
पालिकाले डुडुवा गाउँपालिका ४ शाहपूर्वामा १५ सैयाको गाउँपालिकास्तरिय अस्पताल निर्माण, गुणस्तरिय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
अध्यक्ष चौधरीका अनुसार प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद एवम् गुरुद्वाराको संरक्षण, मर्मत सम्भार तथा पुनःनिर्माण गरी पर्यटकीय क्षेत्रको विकास, राप्ती नदी किनारमा स्नान घर र आर्यघाट व्यवस्थित रूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीति लिइएको छ ।
यसैगरि आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर–घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घर–घर पशुसेवा कार्यक्रम, वडा–वडामा प्रयोगाशाला सुविधा, टोल–टोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता दिईने बताउनुभयो ।
यसैगरी, डुडुवा गाउँपालिक वडा नं–६ महाउत टोलमा ७०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आ।व। मै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारणको ब्यवस्था मिलाउने उहाँले बताउनुभयो । प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना, न्यूनतम दरमा सवै डुडुवावासीलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहँुचमा वृद्धि नीति पनि पालिकाले लिएको छ ।
बेतहनी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरि १० शैयाको सामुदायिक अस्पतालमा परिणत गर्न संघिय÷प्रदेश सरकारसंग समन्वय गरि सामुदायिक अस्पतालको स्थापना गरिने, सामुदायिक अस्पतालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बिमा कम्पनीसंग सहकार्य गरि बिमा सेवा कार्यक्रम लागु गरिने पनि गाउँपालिकाले जनाएको छ ।
बैजनाथको बजेट
बाँकेको बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ६९ करोड ९९ लाख ३५ हजार नौँ सय ७५ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । संघीय समानिकरण तर्फ १५ करोड २० लाख, प्रदेश सरकार समानिकरण एक करोड १४ लाख ६३ हजार, संघीय सरकार सशर्त चालू रकम २९ करोड सात लाख, संघीय सरकार सशर्त पूञ्जीगत रकम दुई करोड ८८ लाख, प्रदेश सरकार सशर्त चालू १६ लाख ५० हजार, प्रदेश सरकार सशर्त पुञ्जीगत रकम ६५ लाख, संघीय सरकार विशेष अनुदान रकम एक करोड, संघीय सरकार समपुरक अनुदान ६० लाख, प्रदेश सरकार समपुरक अनुदान रकम एक करोडको वजेट प्रस्ताव गरिएको पालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो ।
त्यसैगरी, संघीय सरकार राजस्व रकम १२ करोड ५६ लाख ८४ हजार, प्रदेश सरकार राजस्व रकम ७१ लाख ३८ हजार, आन्तरिक आय तीन करोड ५० लाख, घर जग्गा रजिस्ट्रेशन बापत मालपोत कार्यालयबाट प्राप्त हुने करिव एक करोड ५० लाख गरी कूल ६९ करोड ९९ लाख ३५ हजार ९७५ रुपैयाँको बजेट गाउँसभामा पेश गरिएको उहाँले बताउनुभयो ।
प्रस्तुत बजेटमा भौतिक पूर्वाधारतर्फ ६ करोड ९६ लाख, स्वास्थ्य सेवा अन्तर्गत गाउँपालिकामा थप बथिङ्ग सेन्टरमा एम्बुलेन्स सेवा सुरु गर्न १२ लाख, बर्थिङ्ग सेन्टरमै शिशु जन्माउने सुत्केरी तथा नवजात शिशुलाई उपलब्ध गराउँदै आएको एक हजारबाट बढाएर २५ सय पोषण प्रोत्साहन भत्ता पुर्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सिकलसेल एनिमिया परीक्षण तथा जनचेतनामुलक कार्यक्रम संचालनका लागि प्रदेश सरकारबाट प्राप्त बजेटमा थप गरी कुल १० लाख पुर्याइएको उपाध्यक्ष निर्मला रोकायले बताइन् । स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न १० लाख, कम्प्युटर तथा लेखा तालिम र बिज्ञान प्रयोगशाला संचालनको लागि आवश्यक तालिम गर्न सात लाख, दलित, द्वन्द्वपीडित, सहिद, बेपत्ता र घाइते परिवारका छात्राको प्राबिधिक शिक्षामा पहुँच वृद्धि गर्न छात्रवृत्तिका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।
खजुराको बजेट
बाँकेको खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०–८१ का लागि ८३ करोड ३९ लाख ५३ हजार ६५८ रुपैयाँ बजेट प्रस्ताव गरेको छ । प्रस्तुत बजेटमा संघीय सरकारको सशर्त अनुदान ३६ करोड ५२ लाख २५ हजार, वित्तीय समानिकरण १४ करोड ६२ लाख, राजस्व बाँडफाँड ११ करोड ८७ लाख ९९ हजार, विशेष अनुदान ८५ लाख र समपुरक अनुदान ५० लाख गरी ६४ करोड ३७ लाख २५ हजार प्रस्तावित बजेट रहेको छ ।
गाउँपालिकाले प्रदेश सरकारबाट सशर्त अनुदान ८६ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान एक करोड ९ लाख ४५ हजार, राजश्व बाँडफाँड दुई करोड ५६ लाख ३४ हजार ६५८, समपुरक अनुदान एक करोड गरी पाँच करोड ५२ लाख २९ हजार ६५८ प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।
आन्तरिक राजस्वतर्फ दुई करोड ५० लाख र अल्यातर्फ ११ करोड गरेर १३ करोड ५० लाख बजेट प्रस्तुत गरिएको अध्यक्ष डम्बरबहादुर विक (तुफान) ले जानकारी दिनुभयो । उक्त बजेटमा सामाजिक विकासतर्फ पाँच करोड ४५ लाख ९८ हजार चार सय, शिक्षातर्फ तीन करोड ५१ लाख ४६ हजार चार सय रुपैयाँ, स्वास्थ्यतर्फ ८५ लाख ५२ हजार, खानेपानी तथा सरसफाईतर्फ १६ लाख, कला संस्कृतितर्फ खजुरा प्रज्ञा प्रतिष्ठानका लागि १२ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २५ लाख, सामाजिक सुरक्षातर्फ पाँच लाख, युवा तथा खेलकुदतर्फ ४० लाख र आयुर्वेद सेवालाई १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी आर्थिक विकासतर्फ तीन करोड १४ लाख ६० हजार, कृषि तथा सिँचाइतर्फ एक करोड १२ लाख, लघु उद्यमतर्फ १६ लाख, पर्यटन क्षेत्रको विकासका लागि एक करोड, सहकारी तथा वित्तीय क्षेत्रतर्फ ११ लाख ३६ हजार ५६०, पशुपंक्षी विकासतर्फ ५६ लाख, भूमि सम्बन्धि समस्या समाधान गर्न २५ लाख र पूर्वाधारतर्फ दुई करोड ६४ लाख विनियोजन गरिएको छ ।
गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकात गर्न र सडक गुरुयोजना अनुसार सडक निर्माण गर्न एक करोड, अधुरा योजनाहरुको पूर्णता दिन ११ करोड, गाउँपालिकामा बसपार्क निर्माण गर्न एक करोड, पालिकाभित्रका उर्जा, बिद्युतीकरण, तारपोल, होमपाइपका लागि १६ लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष मञ्जु मल्लले बताउनुभयो ।
त्यस्तै परम्परागत धार्मिक संस्कृति संरक्षणका लागि आठ लाख, मर्मत सम्भारका लागि ४० लाख, सुशासनतर्फ ७३ लाख ८० हजार विनियोजन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको आफ्नै रोलर र जेसिबी खरिद गर्न एक करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको पनि उहाँले बताउनुभयो । यस्तै जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्न दुई करोड रुपैयाँ र संघ तथा प्रदेश साझेदारीमा हुने कार्यक्रमका लागि ३२ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
जानकी गाउँपालिकाको बजेट
बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त पालिकाले ४६ करोड १० लाख ८९ हजार ६ सय १६ रुपैयाँको बजेट ल्याएको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो । कुल बजेटको सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएको अध्यक्ष खाँले बताउनुभयो ।
स्वास्थ्यतर्फ पाँच करोड ५८ लाख बजेट विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ कुल २० करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले आर्थिक विकासतर्फ एक करोड ६९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि शाखाका लागि ४१ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो ।बाँकेको पालिका मध्ये सबैभन्दा कम बजेट जानकारी गाउँपालिकाले ल्याएको छ । उक्त पालिकाले ४६ करोड १० लाख ८९ हजार ६१६ रुपैयाँ वजेट विनियोजन गरेको छ ।






