बाँके । आर्थिक वर्ष ०८० ०८१ का लागि नयाँ नीति तथा कार्यक्रम बनाउँदा बाँकेका खजुराबासीले कृषिमा जोड दिएर बजेट बनाउन सुझाव दिएका छन् । आइतबार उक्त गाउँपालिकाले अयोजना गरेको आर्थिक वर्ष २०८०, ०८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा सरोकारवालासँगको सुझाव कार्यक्रममा पालिका बासीहरुले कृषिमा २० प्रतिशत बजेट छुट्याउन सुझाव दिएका हुन् ।
कार्यक्रममा उपस्थित सहभागीले खजुरामा पशुपालनको सम्भावना बढी रहेको भन्दै पालिका प्रमुख र उपप्रमुखलाई कृषिका साथै पशुपालनको विषयमा पनि बजेट छुट्टयाउनमा जोड दिएका थिए । उनीहरुले खजुराका किसानलाई सिँचाइको धेरै समस्या रहेको, उत्पादन क्षेत्रमा कृषिका तालिम संचालन गर्नु पर्ने, किसानको क्षेत्रमा ट्रासफर्म, मोटर, सिँचाइ, मल, बीउ विजनको सहजता बनाउनु पर्ने लगाएतका माग राखेका थिए ।
यस्तै कार्यक्रममा वडा नम्बर ५, ६, ७ र ८ मा विद्यालय भर्ना दर कम रहेको र सो क्षेत्रमा कुपोषणको समस्या रहेको, पालिका लागूऔषध दुव्र्यशनीको समस्या बढ्दै गएको, खजुरामा सामाजिक विकास कम रहेका जस्ता समस्या रहेको सहभागीले बताए । आपांग व्यक्तिहरुको आयस्रोत बढाउन पालिकाले योजना बनाउनु पर्ने, असारे विकासलाई अन्त्य गर्नु पर्ने, पालिकाका सबै विद्यालयमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्थापन गर्नु पर्ने, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म यातायातको व्यवस्था गर्नु पर्ने सुभाव दिए ।
कार्यक्रममा प्रमुख अथिति रहनु भएका लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले आगामी आर्थिक वर्षमा खजुराले कृषिलाई प्राथमिकता दिँदै प्रत्येक किसानको पहुँचमा विद्युत् पुर्याउनु पर्ने बताउनुभयो । ‘हामीले व्यवसायी कृषितर्फ ध्यान दिनु पर्छ,’ कुर्मीले भन्नुभयो,‘खजुराले पालिकामा भएका हरेक किसानको पहुँचमा विद्युत, सिँचाइ, बीउ विजन पुर्याउनु पर्छ र किसानले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा ध्यान दिनु पर्छ ।’
त्यस्तै कुर्मीले खजुराको वडा नम्बर १ देखि ४ र ५ देखि ८ नम्बर वडामा फरक समुदाय र वातावरण रहेको बताउँदै पालिकाले लक्षित वर्गलाई समेटने बजेट ल्याउनु पर्ने बताउनुभयो । उहाँले खजुराले न्यायिक क्षेत्रमा सक्रिय हुनु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले एक किसान एक उत्पादनमा खजुराले जोड दिनु पर्ने बताउनुभयो । ‘हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भन्दै गर्दा मानविय विकासलाई चासो दिएनौं । हामीले कृषि क्षेत्रलाई जोड दिँदै यसलाई बजारिकरण कसरी गर्ने भन्नेतर्फ केन्द्रित गर्नु पर्छ ।’ खत्रीले भन्नुभयो,‘बजेट पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा विनियोजन गर्नुपर्छ ।’
खत्रीले टुक्रे योजनालाई पालिकाले निरुत्साहित गर्नु पर्ने बताउँदै ३० लाख रुपैयाँभन्दा माथिका योजना प्रदेश सरकारले गर्ने र पालिकाले कमसेकम ५ लाख रुपैयाँभन्दा माथिका योजना बनाउनु पर्ने उनले सुझाव दिनुभयो ।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले कार्यक्रममा आएका सुभावलाई आगामी योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले कार्यक्रममा आएका सुझावहरु वैज्ञानिक रहेको र कतिपय योजनाहरु पालिकाले संचालन गरिरहेको जानकारी दिनुभयो ।






