भरतपुर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा कसैको मुख नहेर्ने बताएका छन् । नेपालीलाई भुटानी नागरिक बनाउने प्रकरणमा संलग्न जोसुकै भए पनि उन्मुक्ति नपाउने बताउनुहुँदै उनले सुशासन कायम गर्ने सरकारको पहिलो दायित्व भएको धारणा राखेका हुन् ।
भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारीको कुनै धर्म, जात र पार्टी नहुने भएकाले जतिसुकै ठूला नेता परे पनि कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरे । “अहिलेको घटना सामान्य घटना हुँदै, होइन । यस्तो अवस्थामा को पर्दैछ, को पर्दैन भनेर हेर्ने बेला पनि होइन ।”
उनले भने,“जो सुकै परे पनि सरकार उनीहरूलाई कारबाहीका दायरामा ल्याउन सक्षम छ । अहिलेको सरकारको यात्रा नै सुशासन हो । भ्रष्टाचारबाट जनता आत्तिएका छन् । जनतालाई अहिले आहात पुग्ने हैन राहत पुग्ने काम गर्नुपर्छ ।” उनले अहिले नेपालीलाई भुटानी नागरिक बनाउने कार्य महापराध भएको बताउँदै सरकारले अझै पनि यस्ता अन्य घटनाहरूको पनि अनुसन्धान सुरु गर्ने जानकारी दिए ।
नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका गुरुङले भ्रष्टाचारमा संलग्न भएका आफ्नै पार्टीका नेताहरूका बारेमा पनि निष्पक्ष र स्वतन्त्र तरिकाले छानबिन हुनुपर्छ भन्ने मान्यतामा कांग्रेसमा रहेको स्पष्ट पारेका थिए ।






