काठमाण्डौ । नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव एंव सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका छन् । निरन्तर १० वटा बैठकमा अनुपस्थित भएमा सांसद पद रिक्त हुने संवैधानिक व्यवस्था छ । उनी पछिल्लो ५ बैठकमा अनुपस्थित छन् ।
आइतबार सुरु बजेट अधिवेशनको कुनै पनि बैठकमा उनी उपस्थित छैनन् । अधिवेशन सुरु हुनुअघिकै वैशाख २१ गतेको मिति राखेर आफू बिरामी रहेको लिखित पत्र लेटर प्याडमा उनले संसद् सचिवालयमा पठाएका हुन् । ‘केही दिनदेखि अस्वस्थ भएको हुँदा उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा नियमित उपस्थित हुन नसक्ने हुँदा बिदा स्वीकृत गरिदिन हुन अनुरोध गर्दछु’ सभामुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेख छ ।
उपचार गराइरहेको भनिए पनि कुन अस्पतालमा भन्ने उल्लेख छैन् । मंगलबार नै सभामुखको सचिवालयमा छाडेको पत्रमा रायमाझीको हस्ताक्षर छ । अपरिचित व्यक्तिले खामबन्दी पत्र छाडेर गएको सचिवालय स्रोतले जनाएको छ । सभामुख देवराज घिमिरे मंगलबार बैठक सकेर सिधै बालुवाटारस्थित निवासमा गएका थिए । कर्मचारीले उक्त पत्र सभामुखलाई पठाएका थिए ।
उक्त पत्रमाथि कारबाही गर्न सभामुख घिमिरेले संसद् सचिवालयको कार्य व्यवस्थामा पठाएका थिए । पत्रमा उल्लेख भएको हस्ताक्षर रायमाझीको हो कि होइन परीक्षण नभएकाले दर्ता हुन बाँकी छ । रायमाझीको पार्टी एमालेले भने चौतर्फी दबाब र आलोचनापछि बुधबार उनलाई सचिव पदबाट निलम्बन गरेको छ । वैशाख २० मा पक्राउ पुर्जी जारी भए पनि फरार अवस्थामा रहेकाले रायमाझीको सांसद पद भने कायमै छ ।






